प्रदेश २ मा १६ वर्ष भन्दा कम उमेर समुहका ४३ प्रतिशत बालिका बलात्कृत



जनकपुरधाम : प्रदेश नम्बर २ मा गत आर्थिक वर्षमा १६ वर्ष भन्दा कम उमेरका ४३ प्रतिशत बालिकाहरु बलात्कृत भएको तथ्याङ्कले देखाएको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुुसार गत आर्थिक वर्ष २०७६-०७७ मा महिला तथा बालबालिका सम्बन्धी अपराधका ४ सय ७७ वटा घटनाहरु घटेका छन् ।

प्रदेश २ को आठवटै जिल्लामा गत आर्थिक वर्षमा १० वर्ष भन्दा मुनिका २३ जना बालिका बलात्कृत भएको तथ्याङ्क छ । त्यस्तै, १० देखि १६ वर्ष उमेर समुहका १ सय १२ जना बालिकाहरु बलात्कृत भएकी छन् । १६ वर्ष भन्दा माथि उमेर समुहको १ सय ५५ जना महिला तथा बालबालिका बलात्कृत भएकी छन् ।

२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक कृष्ण प्रसाईले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस प्रदेशमा गत आर्थिक वर्षमा जबरजस्ती करणीका २ सय ९० वटा मुद्दाहरु दर्ता भएका छन् । जसमा संलग्न २ सय २३ जना व्यक्ति पक्राउ समेत परिसकेको अवस्था छ । जिल्लागत हिसाबले सप्तरीमा ३१, सिरहामा ४७, धनुषामा ५३, महोत्तरीमा १६, सर्लाहीमा ३०, रौतहटमा २९, बारामा ४५ र पर्सामा ३९ वटा जबरजस्ती करणीका घटनाहरु घटेका छन् । यस्ता घटनाहरुमा संलग्न मध्ये सप्तरीमा १८, सिरहामा ३९, धनुषामा ४७, महोत्तरीमा १५, सर्लाहीमा १७, रौतहटमा २२, बारामा ३३ र पर्सामा ३२ जना गरि २ सय २३ जना पक्राउ परिसकेका छन् ।

गत आर्थिक वर्षमा १० वर्ष भन्दा मुनिका बालिकाहरु धनुषामा ६, रौतहटमा ६, बारामा ५ र पर्सामा ६ गरि कुला २३ जना बलात्कृत भएको तथ्याङ्कले देखाएको छ । त्यस्तै, १० देखि १६ वर्ष उमेर समुहका सप्तरीमा १२, सिरहामा १, धनुषामा १८, महोत्तरीमा ७, सर्लाहीमा १२, रौतहटमा १३, बारामा ३१ र पर्सामा १८ गरि १ सय १२ जना बालिकाहरु जबरजस्ती करणीका शिकार भएका छन् । १६ वर्ष भन्दा माथि उमेर समुहका सप्तरीमा १९, सिरहामा ४३, धनुषामा ३१, महोत्तरीमा १०, सर्लाहीमा १९, रौतहटमा ९, बारामा ९ र पर्सामा १५ गरि कुल १ सय ५५ महिला तथा बालिकाहरु बलात्कृत भएको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै, जबरजस्ती करणी उद्योग तर्फ सप्तरीमा १०, सिरहामा २२, धनुषामा १४, महोत्तरीमा ७, सर्लाहीमा १४, रौतहटमा १२, बारामा २२ र पर्सामा ४ गरि कुल १ सय ५ मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जबरजस्ती करणी उद्योगका मुद्दाहरुमा पक्राउ परेकाहरु मध्ये सप्तरीमा ११, सिरहामा १३, धनुषामा १५, महोत्तरीमा ११, सर्लाहीमा १०, रौतहटमा ८, बारामा २१ र पर्सामा २ गरि ९१ जना पक्राउ परेका छन् ।

तथ्याङ्क अनुसार जबरजस्ती करणी उद्योग तर्फ गत आर्थिक वर्षमा १० वर्ष भन्दा मुनिका ६ जना बालिकाहरु पीडित भएकी छन् । जिल्लागत हिसाबले महोत्तरीमा १, सर्लाहीमा १, रौतहटमा १ र बारामा ३ जना पीडित भएका छन् । त्यस्तै, १० देखि १६ वर्ष उमेर समुहका सप्तरीमा ७, सिरहामा ५, धनुषामा २, महोत्तरीमा ५,सर्लाहीमा ३, रौतहटमा ७ र बारामा ९ गरि कुल ३८ जना पीडित भएकाहरु छन् । १६ वर्ष भन्दा माथि उमेर समुह तर्फ सप्तरीमा ३, सिरहामा १७, धनुषामा १२, महोत्तरीमा १, सर्लाहीमा १०, रौतहटमा ४, बारामा १० र पर्सामा ४ गरि जम्मा ६१ जना पीडित भएको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रसाईले यस प्रदेशमा विभिन्न हिंसात्मक घटनामा ९० जनाको हत्या भएको जानकारी दिएका छन् । यस्ता घटनामा संलग्न १ सय १५ जना पक्राउ समेत परिसकेको उनले बताए ।

प्रहरीले जनाए अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म जबरजस्तीकरणी, हत्या र अन्य घटना सहित २ सय २६ वटा महिला तथा बालबालिका सम्बन्धी अपराधिक घटनाको मुद्दा दर्ता भएको हो जसमध्ये बलात्कारतर्फ १ सय ४६ र बलात्कारको प्रयासतर्फ ४४ वटा गरी १ सय ९० वटा रहेका छन् ।

कारवाही तिव्र
बलात्कारको घटनामा ह्वातै वृद्धि भएपछि कारवाही प्रक्रिया पनि प्रहरीले तिव्रगतिमा जारी राखेको प्रवक्ता प्रसाईको दाबी छ । प्रहरीले पक्राउ गरेर अदालत समक्ष बुझाएकाहरु मध्ये अधिकांश जेल सजाय भोगिरहेको उनले बताए ।

गत आर्थिक वर्षमा ३ सय ९५ बलात्कारको घटना मध्ये ३ सय १४ जनालाई पक्राउ गरिएको जानकारी दिए । चालु आर्थिक वर्षमा १ सय ९० बलात्कार घटनामा १ सय ४१ जना पक्राउ गरी कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

प्रकाशित :१५ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्