भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु



भक्तपुर : भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुर–काठमाडौं ६ लेन सडकको मध्यपुर थिमि नगरपालिका–४ एसएस चोकमा सोमबार राति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७३ प ३८२ नम्बरको स्कुटी अनियन्त्रित भई आफै दुर्घटना हुन पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । उक्त घटनामा परी स्कुटर चालक मध्यपुर थिमि नपा ९० राधेराधे बस्ने २९ वर्षीय राजु तामाङको मृत्यु भएको परिसरले जनाएको छ ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले स्कुटर एसएस चोकमा रहेको ट्राफिक आइल्याण्डलाई ठक्कर दिई दुर्घटना भएको जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी घाइते भएका तामाङलाई उपचारका लागि तत्काल नजिकै रहेको मध्यपुर अस्पताल लगिएको थियो । त्यहाँ प्राथमिक उपचारपछि गएराति नै काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।

नर्भिक अस्पतालका सम्बन्धित चिकित्सकले घाइते तामाङको मृत्यु भइसकेको भनी पुष्टि गरेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

प्रकाशित : मंसिर १६, २०७७

प्रतिक्रिया दिनुहोस्