सचिवालय बैठक : ओली उपस्थित नहुने सम्भावना



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) बस्ने पार्टीको सचिवालय बैठकमा उपस्थिति नहुने सम्भावना प्रवल देखिएको छ ।

प्रधानमन्त्री ओलीले मंगलबारको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावलाई लक्षित गर्दै त्यो ‘कू’ तर्फको यात्रा भएको बताएका थिए । हिजोको बैठकमा अध्यक्षद्वयबीच केही समय भनाभन समेत भएको थियो ।

बैठकको कार्यसूची तय गर्ने विषयमै दुई अध्यक्षबीच चर्काचकी परेपछि माहोल घम्साघम्सीको अवस्थामा पुगेको बताइन्छ ।

अध्यक्ष प्रचण्डले कात्तिक २८ गते र प्रधानमन्त्री ओलीले मंसिर १३ गते आआफ्ना प्रस्ताव राखेका थिए । तर, ती प्रस्ताव छलफलमा लैजाने वा नलैजाने कार्यसूचीकै विषयमा विवाद सचिवालय बैठकमा भएको हो ।

तर, प्रचण्डले बैठक छल्न नहुने भन्दै बुधबार १ बजेका लागि बैठक तय गरेको र बैठकपछि बाहिर आएर प्रचण्ड पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले त्यसैअनुसार पत्रकाहरुलाई ‘ब्रिफिङ’ गरेका थिए ।

बुधबार प्रधानमन्त्री ओली बैठकमा सामेल नहुने बताइएको छ । तर, बैठक भने पूर्वनिर्धारित समयमा हुने अडान प्रचण्ड पक्षले राखेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक पूर्वनिर्धारित समयमा हुने र प्रधानमन्त्री आउने नआउने बैठकमा गएपछि थाहा हुने बताए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो १ बजेका लागि बैठक तय भएको जानकारी दिँदै गरेको प्रवक्ता श्रेष्ठले भने–‘त्यो सचिवालयकै निर्णय हो । त्यसैअनुसार आज बैठक बस्नेछ । तर, प्रधामन्त्री आउने नआउने म अहिले भन्न सक्दिन ।’

प्रचण्ड पक्षका नेता झलनाथ खनालले पनि पूर्वनिर्धारित बैठक कसैले पनि रोक्न नसक्ने बताएका छन् । उनले भने,‘बैठकबाट भाग्ने कसैलाई पनि छुट छैन । हिजो हामीबीच आज बैठक गर्ने सहमति भएको हो । त्यसैअनुसार आज बैठक बस्छ ।’

यता प्रधानमन्त्री निकट अर्का नेता ईश्वर पोखरेलले भने अनौपचारिक रुपमा पनि छलफल गर्ने र बैठक पनि गर्ने भन्ने हिसावमा बुधबार पनि सचिवालय बैठक हुन लागेको जानकारी दिएका थिए ।

प्रकाशित : मंसिर १७, २०७७

प्रतिक्रिया दिनुहोस्