स्नातकको परीक्षा डेढ र स्नातकोत्तरको २ घण्टा मात्रै



काठमाडौंः त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने भएको छ ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रहेसम्म स्नातकोत्तर तहमा समय घटाउने निर्णय विश्वविद्यालयले गरेको हो ।

स्नातकोत्तर तहमा ४ घण्टाको परीक्षा लिने गरेको झण्डै ४ दशक लामो अभ्यासलाई परिवर्तन गरिएको हो । विश्वविद्यालयले परीक्षालाई अब २ घण्टामा सीमित गर्ने निर्णय गरेको छ ।

व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले विश्वविद्यालयको कार्यकारी परिषद्ले कोरोना अवधिमा परीक्षाको प्रावधान परिवर्तन गर्न सक्ने अधिकार दिएलगत्तै कार्यान्वयन शुरु गरिएको जानकारी दिए ।

प्राज्ञिक परिषद्बाट पारित गरी कार्यान्वयन गर्न लागिएको हो । मंसिर महिनामा सञ्चालन हुने स्नातकोत्तर तहको परीक्षाबाट यो प्रावधान कार्यान्वयनमा आउनेछ ।

राजधानीको पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापाले अन्तर्राष्ट्रिय मान्यता अनुसार स्नातकोत्तर तहमा चार घण्टाको परीक्षा लिने गरिएको उल्लेख गर्दै विशेष अवस्थाका लागि मात्र समय कम हुनुपर्ने बताएका छन् ।

यसका साथै अब स्नातक तहको परीक्षा डेढ घण्टा मात्रै सञ्चालन गरिने छ । विगतमा ३ घण्टा स्नातक तहको परीक्षा सञ्चालन गरिएकोमा अब कोरोना अवधिभर परीक्षाको आधा समय घटाइएको छ । विद्यार्थीलाई कक्षा १२ को वार्षिक परीक्षामा पनि समय घटाइएका कारण विश्वविद्यालयले यो निर्णय गरेको जनाएको छ ।

प्रकाशित :१८ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्