ओली र प्रचण्डबीच सहमतिका लागि दोस्रो तहका नेता सक्रिय



काठमाडौं—नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमतिका लागि ओलीपक्षीय दोस्रो तहका नेताहरु सक्रिय भएका छन् ।

अध्यक्ष प्रचण्डलाई मनाउन साझा दस्तावेजको प्रस्ताव राख्न सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल शुक्रबार विहानै प्रचण्ड निवास खुमलटार पुगे ।

प्रचण्डसँगको भेटमा उपप्रधानमन्त्री पोखरेलले साझा प्रस्तावको लागि आग्रह गरेको बताइएको छ । ‘अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई सहमत गराउन हामी लाग्छौं’ उपप्रधानमन्त्री पोखरेलको भनाई उधृत गर्दै स्रोतले भन्यो ‘उहाँले पार्टी एकतालाई जोगाउन अध्यक्षद्वय मिल्नुको विकल्प छैन, सहमतिको उपाय साझा दस्तावेज नै हो भन्नुभयो ।’

उपप्रधानमन्त्री पोखरेलको प्रस्तावमा प्रचण्डले ठोस जवाफ नदिएको स्रोतको भनाई छ ।

यसअघि बिहीबार पार्टी महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेर सहमति मै अगाडी बढ्नुपर्ने मत राखेका थिए ।

अध्यक्ष प्रचण्डले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्तावमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओलीले मंसिर १३ गते जवाफ दिएका थिए । तर, ओलीले १६ गतेको बैठकमा प्रचण्डको प्रस्ताव फिर्ता गरी भदौं २६ कै सहमतिमा फर्किनुपर्ने अडान राखेका थिए ।

प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरू दुबै प्रतिवेदनमाथि छलफल गर्नुपर्ने अडानमा रहेकाले ओली १७ गतेको सचिवालयमा उपस्थित भएनन् । सचिवालको अर्को बैठक २० गतेका लागि बोलाइए पनि प्रधानमन्त्री ओलीको उपस्थिति रहने वा नरहने अन्यौलमै छ ।

प्रधानमन्त्री ओली पक्षधरले दुबै प्रतिवेदन फिर्ता गरेर साझा प्रस्तावमार्फत सहमतिमा अगाडि बढ्नुपर्ने भन्दै दुबै अध्यक्षलाई मनाउन पहल गरिरहेको छन् ।

प्रतिक्रिया दिनुहोस्