ओली–प्रचण्ड आआफ्नै रणनीतिलाई बलियो बनाउने दिशामा अग्रसर



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेपका)को सचिवालय बैठक आज (शनिबार) बस्दैछ । मंसिर १७ गते बसेर तीन दिनको लागि स्थगन भएको सचिवालय बैठक शनिबार बस्न लागेको हो । बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीसमूह शनिबारको बैठक टार्ने र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–वरिष्ठ नेता मावधकुमार नेपाल समूह बैठक गर्ने तयारीमा छन् ।

एक–अर्काप्रति गम्भीर आरोप–प्रत्यारोपसहितका बेग्लाबेग्लै राजनीतिक प्रस्ताव अगाडि सारेका नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड सहमतिको नयाँ विकल्पबारे सम्वादै नगरी आ–आफ्नै रणनीतिलाई बलियो बनाउने दिशातिरै अग्रसर देखिएका छन् । दुवै पक्षका आ–आफ्ना अडानबीच सहमति खोज्न दोस्रो तहका नेताहरूको दौडधुप चले पनि उल्लेखनीय प्रगति भएको छैन ।

१७ गते पार्टी अध्यक्षद्वय ओली र प्रचण्डको प्रस्तावमा सन्दर्भमा छलफलका लागि बोलाइएको सचिवालय बैठक केहीबेर बसेर सकिएको थियो । तर, बैठकमा प्रधानमन्त्री ओली भने अनुपस्थित भएका थिए ।

प्रधानमन्त्रीको सन्देश लिएर उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रबार र महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले बिहीबार खुमलटारस्थित निवासमा पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । उनीहरूले दुई अध्यक्षको सहमतिबाटै पार्टी एकता भएकाले त्यसमा दायाँ–बायाँ गरेर अगाडि बढ्दा पार्टी एकता दुर्घटनामा पर्ने भन्दै केही दिन पुनः बैठक रोकेर छलफलमा बस्न प्रस्ताव गरेका थिए ।

तर, प्रचण्डले भने प्रधानमन्त्रीले साँच्चै निकास खोजेको हो भने सचिवालय बैठकमा उपस्थित भएर सहमतिको आधार प्रस्तुत गरेर कमिटीलाई विश्वासमा लिन सक्नुपर्ने जवाफ दिएका थिए । उनले प्रधानमन्त्रीसँग बसेर छलफल गर्नुको औचित्य नरहेकाले शनिबार डाकिएको बैठक पनि नरोकिने प्रस्ट्याएका थिए ।

प्रकाशित : मंसिर २०, २०७७

प्रतिक्रिया दिनुहोस्