चीनको कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ मजदुरको मृत्यु, पाँच वेपत्ता



चीन : चीनको कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको छ । सरकारी टेलिभिजनले जनाए अनुसार दक्षिणपश्चिम चीनस्थित एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको हो ।

शुक्रवार चुङ्चिङस्थित उक्त खानीमा कार्बन मनक्साइड चुहिएको थियो ।

सीसीटीभीका अनुसार खानीमा काम गर्ने पाँच जना अझै हराइरहेका छन् भने एक जनालाई जीवितै उद्धार गरिएको छ । उक्त घटनाबारे अधिकारीहरूले छानबिन शुरु गरिसकेका छन् ।

सुरक्षासम्बन्धी नियम पालना नगरिने भएकाले चीनका खानीमा प्रायः दुर्घटनाहरू भइरहन्छन् । सीसीटीभीका अनुसार डियाशुइडोङ खानीमा कामदारहरूले भूमिगत उपकरण फुकाल्न लाग्दै गर्दा ग्यास चुहिएको थियो ।

उक्त खानी दुई महिनादेखि बन्द थियो ।

गत सेप्टेम्बर महिनामा चुङ्चिङस्थित अर्को खानीमा आगो लाग्दा १६ जनाको मृत्यु भएको थियो । गत वर्ष डिसेम्बरमा ग्वेजो प्रान्तस्थित अर्को कोइलाखानीमा विस्फोटनहुँदा १४ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : मंसिर २०, २०७७

प्रतिक्रिया दिनुहोस्