सचिवालय बैठकअघि ओली–प्रचण्डबीच भेटवार्ता



काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न १ बजे बस्न लागेको सचिवालय बैठकअघि ओली र प्रचण्ड भेटवार्ता भएको हो ।

पार्टीभित्र विवाद चर्किंदै गएपछि गत कात्तिक २५ गतेयता दुवै अध्यक्षबीच सम्वाद हुन सकेको थिएन् ।

अध्यक्ष प्रचण्ड दिउँसो १२ बजेदेखि बालुवाटारमै रहेका नेकपा स्रोतले जनाएको छ । नेकपाभित्र देखिएको विवाद समाधानका लागि छलफल गर्न शनिवार दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेको मंसिर १७ गतेको बैठकले आजका लागि बैठक बोलाएको थियो । बुधवारको बैठकमा ओली सहभागी नभएपछि विवादित एजेण्डामा छलफल भएको थिएन ।

आजको बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री ओली र प्रचण्डले लिखित धारणा पेश गर्ने तयारी गरिरहेका नेकपा स्रोतले जनाएको छ । प्रचण्डले गत बुधवारकै बैठकमा लिखित धारणा पेश गर्ने तयारी गरेपनि ओली सहभागी नहुँदा पेश गर्न पाएनन् । आजको सचिवालय बैठकमा ओलीलाई अनिवार्य उपस्थित हुन बुधवारको बैठकले आग्रह गरेको थियो ।

प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा एउटा दस्तावेज पेश गरेका थिए । मंसिर १३ गतेको बैठकमा ओलीले ५३ बुँदे जवाफसहितको प्रतिवेदन पेश गरेका थिए ।

प्रकाशित : मंसिर २०, २०७७

प्रतिक्रिया दिनुहोस्