सचिवालय बैठक : ओली-प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेश हुने



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदन स्थायी कमिटीमा पेश हुने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले पूर्व निर्धारित समयअनुसार भोलि (आइतबार) १ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीको संकट निवारणबारे स्थायी कमिटीमा नै छलफल हुने बताए । श्रेष्ठले भने, ‘दुवै अध्यक्षको प्रतिवेदन पनि स्थायी कमिटीमा प्रस्तुत हुन्छ ।’

अध्यक्ष ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा ३८ पृष्ठको ५३ बुँदे प्रतिवेदन पेश गरेका थिए भने कार्यकारी अध्यक्ष प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा १९ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । 

प्रकाशित : मंसिर २०, २०७७

प्रतिक्रिया दिनुहोस्