निर्वाचनअघि प्रधानमन्त्री र महाधिवेशनसम्म अध्यक्ष छाड्दिन्नः ओली



काठमाडौं : नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू महाधिवेशनसम्म पार्टी अध्यक्ष र आम निर्वाचनअघि प्रधानमन्त्री नछाड्ने स्पष्ट पारेका छन् । ‘मलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन खोजिरहनुभएको होला तर म दुवै पद छाड्दिनँ,’ पार्टीको शनिबार बसेको सचिवालय बैठकमा ओलीले भने ।

उनले पार्टीभित्र बहुमतका आधारमा आफूलाई हटाउन नसकिने समेत दाबी गरे । ओलीले अडान नछाड्ने संकेत गर्दै पार्टीको एकता महाधिवेशनसम्म आफू अध्यक्षमा रहने र अर्को संसदीय चुनाव नभएसम्म प्रधानमन्त्री हुने स्पष्ट पारे । ओलीले आफूले त्याग गर्छु भन्ने कल्पना पनि नगर्न र त्यसका लागि कुनै पनि कसरत नगर्न विरोधी समूहलाई चेतावनी दिए । सचिवालय बैठकमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि प्रस्तावित बैठक बसाल्ने र स्थायी कमिटी सदस्यहरुलाई आफूहरु दुबैको प्रस्तावमाथि अध्ययनका लागि समय दिएर आफूहरु पनि गृहकार्यमा जुट्नुपर्ने भन्ने प्रस्तावको प्रतिक्रियामा प्रधानमन्त्री ओलीले त्यस्तो चेतावनी दिएका हुन ।

‘तपाईंहरूले विधि, पद्धति, प्रक्रिया बैठक भन्दै बहस गरिरहनुभएको छ । तलतल पनि बहस लगिराख्नुभएको छ,’ बैठकका अध्यक्ष ओलीले भने, ‘महाधिवेशन अघि पार्टी अध्यक्ष र आम निर्वाचनअघि नै मलाई प्रधानमन्त्रीबाट हटाउन लागिएको हो भने बैठकको कुनै औचित्य छैन । म यी दुवै पद छाड्दिनँ ।’ ओलीले स्थायी कमिटी बैठकमा आफू सामेल हुनुको अर्थ नभएको, बैठकले आफ्नो राजीनामा माग्छ भन्नेमा आफू ढुक्क भएको तर आफूले दुबै पदबाट राजीनामा नदिने अडान लिए ।

उनले ठोस प्रस्ताव, कार्यसूची र तयारी पनि नभएकाले आइतबार बस्ने स्थायी कमिटी बैठक रोक्नुपर्ने बताएका थिए । आइतबारको स्थायी समिति बैठकमा सामेल नहुने ओलीले अडान लिइरहेका बेला प्रचण्डले भोलि एक बजे धुम्बाराहीमा स्थायी कमिटी बैठक बस्ने घोषणा गरेका थिए र त्यसलाई प्रचण्डसमर्थक सदस्यहरुमात्रै नभई ओली निकट मानिएका सचिवालय सदस्य रामबहादुर थापा बादल, ईश्वर पोखरेलले समेत समर्थन जनाएका थिए । थापाले समस्या समाधानका लागि तीन कार्यदल गठन गरौँ भन्दै गरेको प्रस्ताव प्रचण्ड पक्षले अस्वीकार गरेको थियो ।

प्रकाशित : २० मंसिर,२०७७

प्रतिक्रिया दिनुहोस्