नेकपा स्थायी समिति आज बस्दै



काठमाडौं : नेकपाको स्थायी समिति बैठक आज बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बैठक बस्ने छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको अनिच्छा विपरित बोलाइएको बैठकमा उनी सहभागी हुने वा नहुने टुङो छैन ।

यद्यपी बैठकमा ओलीलाई सहभागी गराउने पहल भइरहेकोे छ । उनले शनिबार बसेको सचिवालय बैठकमा स्थायी समितिको कामै छैन भनेका थिए । ओलीनिकट एक नेताकाअनुसार आज बस्ने बैठकमा उनी सहभागी हुने छैनन् ।

स्थायी कमिटीमा ओली अल्पमतमा छन् । उनका विरुद्ध बैठकले निर्णय गर्न सक्ने भएकाले सहभागी हुन मानेका छैनन् । तर सचिवालय बैठकमा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पेश गरेको छुट्टछुटै प्रतिवेदन स्थायी कमिटीमा छलफलका लागि लगिदैछ । शनिबार बसेको सचिवालय बैठकले अध्यक्षद्वय ओली र प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको थियो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीको संकट निवारण सम्बन्धमा अहिलेसम्म सचिवालयमा प्रस्तुत प्रस्तावहरु स्थायी कमिटीको बैठकमा पेस गरी सार्थक निष्कर्षका निम्ति छलफल अगाडि बढाइने छ ।

मन्त्रिपरिषद्मा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद रहँदै आएकोमा प्रचण्ड र ओलीले छुट्टाछुट्टै प्रस्ताव ल्याएपछि विवाद थप उत्कर्षमा पुगेको हो ।

यसैबीच सचिवालय बैठक अघि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरु खुमलटारमा आन्तरिक छलफलमा जुटेका छन् ।

प्रकाशित : मंसिर २१, २०७७

प्रतिक्रिया दिनुहोस्