एक साताका लागि सर्‍यो नेकपा स्थायी कमिटी बैठक, ओलीको पुरानै अडान



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनियष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एक साताका लागि स्थगित भएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको स्थायी कमिटी बैठक मंसिर २८ गतेसम्मका लागि स्थगित भएको हो ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रस्ताव पेश भएको थियो । उक्त प्रस्ताव अध्ययनका लागि भन्दै बैठक २८ गते सम्मलाई स्थगित भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए ।

बैठकमा अध्यक्ष ओली सहभागि भएका थिएनन् । तर, ओलीले बैठकलाई सम्बोधन गर्दै पत्र पठाएको थिए । उक्त पत्रलाई सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा पढेर सुनाएका थिए ।

पत्रमा ओलीले पुरानै अडान दोहो-याएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रस्ताव पार्टी कमिटीमा छलफलका लागि योग्य नभएको भन्दै त्यसको फिर्ताको अडान राखेका छन् । यस्तै, मंसिर २५ गते निर्धारित गरिएको केन्द्रीय कमिटीको बैठक पुस ५ लाई सरेको छ ।

प्रकाशित : मंसिर २१, २०७७

प्रतिक्रिया दिनुहोस्