चिल्ला सडकमा फोहोरको थुप्रो



जनकपुरधाम : गत साउन ६ गते जनकपुरधाम उपमहानगरपालिकाले नगरको फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै यहाँका युवाहरुले नगरको फोहोर उठाएर उपमहानगरको मूलगेटमा थुपारेका थिए । तर, समस्या अहिले पनि ज्यूँका त्यूँ छन् । उपमहानगरको लापरवाहीका कारण नगरभित्रको फोहोर नउठेकोले नगर क्षेत्र दिनदिनै दुर्गन्धित बनिरहेको छ ।

जनकपुरधाम उपमहानगरपालिकामा अहिले ७३ जना सफाइ कर्मचारी र सफाइका लागि दर्जन बढि ट्याक्टर र ट्रिपर रहेपनि नगर सरसफाइको नाममा कुनै काम हुन नसकेको स्थानीयको दुःखेसो छ ।

No description available.

बजारको छेउछाउमा सडकभरि विस्कुट र चाउचाउका खोल, पानीका खाली बोतलहरु यत्रतत्र फालिएका छन् । उपमहानगरपालिकाले नगरभित्रको सरसफाइमा ध्यान नदिएकोले प्राचिन मिथिलाको राजधानी जानकी नगरि कुरूप र दुर्गन्धित बन्दै गइरहेको देखिएको छ । फोहोर फाल्ने ठाउँ (डम्पिङ साइट) नभएपछि नगरवासी सडक किनारमा फोहोर फाल्न बाध्य छन् । सडक किनारमा फालिएको फोहरसमेत उपमहानगरले नियमित नउठाउँदा समस्या बढेको देखिएको छ ।
जनकपुरधामको प्रमुख चोकहरु पुरानो बसपार्क, राजदेवी मन्दिर, विश्वकर्मा चोक, विद्यापति चोक, जानकी चोक, रामानन्द चोक, पीडारी चोक, पूलचोक सहितका स्थानहरुमा विहानै फोहोर व्यवस्थापन नहुँदा शहर कुरूप देखिएको हो ।

No description available.

जनकपुरधाम उपमहागरपालिकाले सरसफाइमा ध्यान नदिएकाले शहर कुरूप बनेको स्थानीय युवा सरोज मिश्रले बताए । उनले भने–‘उपमहानगरले फोहोर व्यवस्थापनको नाउँमा प्रत्येक वर्ष करोडौँको रकम खर्चने गरेको छ तर नगर अहिले पनि सफा हुन नसक्नु दुःखद छ ।’ उनले फोहोर सफा गर्ने नाउँमा खर्च गरिएको बजेट कहाँ जान्छ प्रश्न समेत गरे ?

No description available.

जनकपुरधाम उपमहानगरपालिकामा आफूहरुले बारम्बार बोर्ड बैठकमा २५ वटै वडाको लागि ट्याक्टर खरीद गर्न आग्रह गर्दा समेत मेयरले ध्यान नदिएको वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले आरोप लगाए ।

No description available.

वर्षौदेखि सडकमा फालिने फोहोरले नगरवासीको स्वास्थ्य तथा बजार क्षेत्रको सुन्दरतामा असर पारिरहेको छ । उपमहानगरपालिकाको कार्यालयले व्यवस्थापनमा ध्यान नदिएको भन्दै नगरवासीहरूले गुनासो गर्दै आएपनि सुनुवाई भने अहिलेसम्म पनि भएको छैन ।

No description available.

स्मार्ट सिटीको परिकल्पना गरेको जनकपुर बजारमा दुर्गन्ध बढ्दै गएको भएपनि उपमहानगरपालिकाको ध्यान नगएको बताउदै अर्का स्थानीय रमेश अधिकारीले भने,‘ मेयर साहबले स्मार्ट सिटी बनाउछु भन्थे जनकपुरलाई । अहिले यो शहर फोहोरको सिटी बन्दै गईरहेको छ ।’

त्यस्तै अभियन्ता सुशिल कर्णले नगरप्रमुख र उपप्रमुखले आफ्नो रवैयामा सुधार नल्याए विरोधका कार्यक्रमहरु निरन्तर जारी राख्ने चेतावनी दिएका छन् ।

No description available.

मेडिकलजन्य फोहोर पनि सडकमै
जनकपुरको सडकमा क्लिनिकहरुबाट निस्किएको मेडिकलजन्य फोहोर र रगत लागेका सिरिन्जहरु समेत जथाभावी रुपमा फालिएको देखिन्छ । यहाँका निजी क्लिनिक र अस्पतालहरुले प्रयोगमा ल्याईसकिएका मेडिकल जन्य फोहोर जथाभावी रुपमा बिच सडकमै फाल्दै आएका छन् ।
प्रादेशिक अस्पताल क्षेत्रमा मेडिकल तथा क्लिनिक सञ्चालकहरुले सडकमै जथाभावी फोहोर फाल्दा शहरको सौन्दर्य विग्रनुका साथै त्यसले विभिन्न रोगहरुसमेत फैलिन सक्ने खतरा बढेको नेपाल पत्रकार महासंघ धनुषा शाखाका कोषाध्यक्ष अवधेश कामतले बताए ।

No description available.

उनले भने,‘प्रादेशिक अस्पतालको एरियामा सञ्चालनमा रहेका विभिन्न डाइग्नोस्टिक सेन्टर तथा क्लिनिकहरुले यसरी नै जथाभावी बिच सडकमा मेडिकल जन्य फोहोर फाल्दै आएका छन् । तरपनि स्थानीय निकायले तिनिहरुलाई केही भन्दैन् । यहाँका जनप्रतिनिधिहरु नामका लागि मात्रै छन्,उनले भने,‘सबै भ्रष्ट र पैसा खाने मात्रै हुन् ।’

महिनौं दिनदेखि फोहोर नउठ्दा नगरक्षेत्र दुर्गन्धित बनेको उनको दुःखेसो छ ।

प्रकाशित : मंसिर २४, २०७७

प्रतिक्रिया दिनुहोस्