सातामा दुई दिन सार्वजनिक बिदा दिन अध्ययन समितिको सिफारिस



काठमाडौं : सरकारी अध्ययन समितिले सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकार समक्ष सिफारिस गरेको छ ।

हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिले सरकार समक्ष सो सिफारिस गरेको हो । साथै निजी क्षेत्रलाई समेत यसका लागि प्रोत्साहन गर्न समितिले सिफारिस गरेको छ ।

मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेव घिमिरे, अर्थमन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल सहभागी भएको अध्ययन समितिले सरकारलाई यस्तो सिफारिस गरेको हो ।

समितिले सार्वजनिक बिदाका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा त्यसले मुलुकको कुल गार्हस्थ उत्पादनमा पर्ने प्रभावसमेत अध्ययन गरी यस्तो सिफारिस गरेको हो ।

आन्तरिक पर्यटन प्रवर्द्धन, सार्वजनिक खर्चमा कतौती, इन्धनमा कटौती, उत्पादकत्व वृद्धिलगायत विषयमा अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको समितिले जानकारी दिएको छ ।

अहिले नेपालमा शनिबार मात्र सार्वजनिक बिदा दिने प्रचलन रहेको छ । मन्त्रालयले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण हुने भन्दै सातामा दुई दिन बिदा दिने प्रावधानबारे अध्ययन गर्न समिति गठन गरेको थियो ।

प्रकाशित : मंसिर २५, २०७७

प्रतिक्रिया दिनुहोस्