कलंकी दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो



काठमाडौं : काठमाडौँको कलङ्कीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा परेका थप दुईजनाको शनिबार मृत्यु भएको छ । योसँगै दुर्घटनामा परि मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

घटनास्थलबाट ट्रक निकाल्ने क्रममा शनिबार बिहान ट्रकमा च्यापिएको अवस्थामा एकजनाको शव फेला परेको र अर्का एकजनाको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु हुनेमा धादिङको थाँक्रेका ४२ वर्षीय राजु पौडेल र अर्का रञ्जितकुमार चौधरी रहेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए ।

चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि घटनास्थलमै ओखलढुङ्गा घर भई सडकमा मागी हिँड्ने शङ्कर परियारको मृत्यु भएको थियो ।

उक्त घटनामा घाइते भएका रामचन्द्र सिंखडा, सुमन मानन्धर, विशाल श्रेष्ठ, गणेश शर्मा, साजन खत्री, सन्ध्या थिङ र रामबहादुर खरालको उपचार जारी छ ।

हेटौँडाबाट सिमेन्ट बोकेर आउँदै गरेको प्रदेश २–०३०० १ ख १४२० नम्बरको ट्रक अनियन्त्रित भई कलङ्कीस्थित कालिका पेट्रोलपम्प नजिक ओरालोबाट पर्खाल भत्काउँदै घरमा ठोक्किन पुगेको थियो ।

परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार ब्रेक फेल भएर ट्रक दुर्घटना भएको अनुमान छ । उक्त ट्रकले अन्य स्कुटर, साइकल, मोटरसाइकल, ट्याक्सी र गाडीमा समेत क्षति पु-याएको प्रहरीले जनाएको छ । घरभित्रसमेत क्षति पुर्‍याएको विष्टले जानकारी दिए । (रासस)

प्रकाशित : मंसिर २७, २०७७

प्रतिक्रिया दिनुहोस्