को-को बन्दैछन् मन्त्री ?



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकको मुख्य एजेन्डा मन्त्रिपरिषद् पुनर्गठन रहेको जनाइएको छ ।

यस्तै बैठकले अन्य महत्वपूर्ण निर्णय गर्ने आँकलन गरिएको छ । नेकपा विभाजन भएर दुई खेमामा बाँडिएपछि ओलीले मन्त्रिपरिषद्मा नयाँ अनुहारहरूलाई सामेल गर्न लागेको उनी निकट नेताहरुले बताएका छन् । त्यही ठाउँमा प्रधानमन्त्रीले नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाइँले मन्त्रिपरिषद् पुनर्गठन हुनलागेको जानकारी दिए । उनले त्यसको तयारी भइरहेको बताए । परराष्ट्रमन्त्री तथा नेकपा ओली समूहका प्रवक्ता प्रदीप कुमार ज्ञपालीले बिहीबार मन्त्रिपरिषद् विस्तार हुने संकेत गरेका थिए । उनले भनेका थिए, ‘प्रधानमन्त्रीले छिट्टै मन्त्रिपरिषद् गर्नुहुनेछ ।’ पार्टी समिति र संसदीय दलमा अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीले संसद विघटन गरेका थिए । उनको कदमको विरोधमा नेकपाका अर्का अध्यक्ष प्रचण्ड–नेपाल समूहको नेकपाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-नेपाल पक्षका ७ जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए । राजीनामा दिने मन्त्रीहरुमा घनश्याम भुसाल, गिरिराजमणि पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, शक्ति बस्नेत, रामेश्वर राय यादव र बिना मगर छन् । २५ सदस्यीय मन्त्रिपरिषद्मा ७ जना मन्त्रीले राजीनामा दिएपछि हाल १८ जना मन्त्री तथा राज्यमन्त्रीहरु छन् । मन्त्रिपरिषद् पुनगर्ठनमा हाल रहेका मन्त्रीहरुमा केहीको जिम्मेवारी हेरफेर हुनेबाहेक कोही पनि हटाइने छैनन् । तर, नयाँ मन्त्रीहरु थपिने सम्भावना रहेको छ ।

मन्त्री हुनेको दौडमा पूर्व माओवादी समूहबाट ओली गुटमा सहभागी नेताहरुको नाम अगाडि छ । मन्त्रिपरिषद् पुनर्गठनमा प्रचण्ड पक्षबाट आफूतिर आएका टोपबहादुर रायमाझीलगायतका केही नेतालाई मन्त्री बनाउने तयारी भइरहेको छ ।

रायमाझीसहित र मणी थापा सरकारमा सहभागी हुने सम्भावना छ । थापा पनि प्रचण्डलाई छाडेर ओली पक्षमा आएका हुन । यस्तै, महेश बस्नेत, नवराज सिलवाल र गोकुल बास्कोटाको नाम पनि मन्त्री हुने सूचीमा रहेको छ । विवादमा परेकाले बास्कोटाको सम्भावना कम छ ।

त्यसैगरी कर्णालीबाट मोहन बानियाँ मन्त्री हुने चर्चा छ । सुदूरपश्चिमबाट प्रेम आले मगरको नाम पनि चर्चामा छ । यस्तै किसान श्रेष्ठलाई पनि मन्त्री बनाउने तयारी भइरहेको छ । जुली महतो पनि मन्त्री बन्ने सूचीमा छिन् । तर उनका श्रीमान रघुवीर महासेठलाई मन्त्री बनाइए उनी पर्ने छैनन् ।

प्रदेश सरकार धरमराएकाले शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ पनि मन्त्री बन्ने सम्भावित सूचीमा परेका छन् । पोखरेल र गुरुङ्ग दुवैले मध्यावधि चुनाव भए संघीय संसदको चुनाव लड्ने तयारी गरेका छन् । स्थायी कमिटीका सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा पनि मन्त्री बनाइन सक्छन् ।

प्रकाशितः १० पुष, २०७७

प्रतिक्रिया दिनुहोस्