धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउँदै



काठमाडौं : धितोपत्र बजारको नियामक निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने भएको छ ।

बोर्डले स्टक डिलर कम्पनीलाई अनुमतिसमेत दिने र एक साताभित्र कमिसन घटाउने तयारी गरेको हाे। दुई विषयलाई एक साताभित्र टुङ्ग्याउने गरी काम भइरहेको अध्यक्ष भीष्मराज ढुङ्गानाले जानकारी दिए ।

पुँजीबजार देशको अर्थतन्त्रको ऐना भएको भनदै उनले धितोपत्र बजार सूचनामा आधारित बजार भएको दाबी गरेका छन् । उनले भने,“सही सूचना सम्प्रेषण भए मात्र बजारको दिगो विकास हुन्छ, यसअर्थमा पत्रकारको भूमिका ठूलो हुन्छ ।” उनले नयाँ वर्ष २०२१ को सुरुवातसँगै ब्रोकर कमिसन घटाएर लाने तयारी भएको जानकारी दिए ।

हाल धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा ०.६ प्रतिशतदेखि ०.४ प्रतिशतसम्म कमिसन तिर्नुपर्ने व्यवस्था छ । लगानीकर्ताले ५० हजारसम्मको सेयर खरिद बिक्री गर्दा ०.६ प्रतिशत ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.५५ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ ।

५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.५ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत र सोभन्दा माथिको कारोबारमा ०.४ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ । लामो समयदेखि लाइसेन्सको पर्खाइमा रहेको नागरिक स्टक डिलरले पनि यसै महिनाभित्र अनुमति पाउने भएको छ । स्टक डिलरले सबै संरचना तयार गरिसकेकाले यसै साताभित्र अनुमतिपत्र प्रदान गर्ने पनि उनले बताए ।

प्रकाशितः १० पुष, २०७७

प्रतिक्रिया दिनुहोस्