केपी ओली गणतन्त्र र संघीयता विरोधी: माधव नेपाल



काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको बताएका छन् ।

नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटीका बैठकको निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपालले ओलीलाई गणतन्त्र प्रति अपनत्व नरहेको आरोप लगाए । उनले भने,‘ उहाँ गणतन्त्र विरोधि मान्छे हो । तत्कालीन एमालेमा हुँदा पनि ओलीले गणतन्त्रबारे फरक मत राख्दा आफू, झलनाथ लगायतका नेताहरु विरोध जनाएका थियौं ।’ ओली कम्युनिस्ट आन्दोलन मात्र नभएर कम्युनिस्ट नै सिध्याउन उद्यत रहेको समेत उनको दाबी थियो ।

‘केपी ओली कम्युनिस्ट सिध्याउने अर्को गोर्भाचोभ हुन्,’ उनले भने। ओलीलाई कुनै पनि कम्युनिस्ट सिद्धान्त मन नपर्ने समेत उनले उल्लेख गरे ।

नेपालले प्रचण्ड र आफूबीचको सहमतिको मूल कुरा कम्युनिस्ट आन्दोलनको विचार, नीति, विधि र पद्दतिलाई समातेर अघि बढ्ने र लोकतन्त्रको जग बलियो बनाउने भएको बताए । ‘कम्युनिस्ट आन्दोलन र लोकतन्त्र एउटै सिक्काका दुई पाटा हुन’, नेता नेपालको भनाइ छ । आफूहरुबीच कमिटी प्रणाली र विधिका साथै आपसी विश्वास कायम गर्दै अघि बढ्ने नेपालले बताए ।

उनले नेकपाको सम्पत्तिका बारेमा बोल्दै जतिपनि पार्टी कार्यालय छन् ती सबै आफ्नै पार्टीको बताए । उनले अरु सम्पत्ति आफूहरुलाई नचाहिने पनि बताए ।

प्रकाशितः १० पुष, २०७७

प्रतिक्रिया दिनुहोस्