देशभर प्रतिनिधिसभा विघटनविरूद्ध जसपाको प्रदर्शन



काठमाडौंः जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा विघटनविरूद्ध आज देशभर प्रदर्शन गरेको छ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार सरकारको पछिल्लो कदमविरूद्ध खोटाङ, धनुषा, कैलाली लगायतका जिल्लामा जसपाले प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा जसपाका नेता कार्यकताहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध चर्को नारा लगाएका थिए । प्रदर्शनकारीहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुतला दहनसमेत गरेका छन् ।

भोलि देशभरका जिल्ला सदरमुकामसहित विभिन्न स्थानमा जसपाले प्रदर्शन गर्ने तयारी गरेको छ भने पर्सि १२ गते काठमाडौंलगायतका शहरमा प्रदर्शन गर्नेछ । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि त्यसकाविरूद्ध जसपाले चरणवद्ध आन्दोलनको घोषणा गरेको थियो ।

त्यस्तै, संसद विघटनको विरोधमा जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरिएको छ । जसपाको पूर्वनिर्धारित कार्यक्रम अनुसार पुत्ला दहन गरिएको हो ।

स्थानीय जनकचोकमा जम्मा भएका नेताहरुले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध चर्का नारावाजी गर्दै प्रधानमन्त्री ओलीको असंबैधानिक कदमबिरुद्ध सबै लोकतान्त्रिक शक्तिहरु एकजुट भएर प्रतिवाद गर्नुपर्ने आवश्यकता रहेकाले जसपाले भोली ११ गते मसाल जुलुस र १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने जनाएको छ ।

प्रकाशितः १० पुष, २०७७

प्रतिक्रिया दिनुहोस्