कांग्रेस केन्द्रीय समिति बैठक १९ गतेसम्मका लागि स्थगित



काठमाडौं: नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने गरी स्थगित भएको हो ।

बैठक अब पुस १९ गते बस्ने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिका विषयमा धारणा बनाउन कांग्रेस केन्द्रीय समिति बैठक बसेको हो ।

कांग्रेसले १३ गते देशभरका निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेर १६ गतेको राष्ट्रिय मेलमिलाप दिवसमा पनि प्रत्येक जिल्लामा कार्यक्रम गर्ने तयारी गरेको छ ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार १३ गते सरकारको असंवैधानिक र अधिनायकवादी निर्णयविरुद्ध विरोध प्रदर्शन गर्ने गरी आगामी १९ गतेसम्मका लागि बैठक स्थगित भएको हो । उनले निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रम भएकाले नेताहरुले स्वविवेकले आ-आफ्ना निर्वाचन क्षेत्रमा जाने वा अरुलाई परिचालन गर्ने भन्ने निर्णय स्वविवेकले लिने जानकारी दिए ।

बैठकले पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने निर्णय पनि गरेको छ । शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाई र कल्पना चौधरीले आ-आफ्नो धारणा राखेका थिए ।

प्रकाशितः १० पुष,२०७७

प्रतिक्रिया दिनुहोस्