नयाँ प्रकारको कोरोनाभाइरसबाट भारतमा ६ जना संक्रमित



नयाँदिल्ली : नयाँ प्रकारको कोरोनाभाइरसबाट भारतमा ६ जना संक्रमित भएको पुष्टि भएको छ ।
यूकेमा यही महिनाको शुरुमा पहिलोपटक पत्ता लागेको नयाँ प्रकारको कोरोनाभाइरसबाट भारतमा पनि पत्ता लागेको हो । ती सबैजना हालसालै यूकेबाट फर्किएका थिए ।

भारत सरकारका अनुसार उनीहरूलाई स्वास्थ्य केन्द्रहरूमा एकान्तवासमा राखिएको छ र उनीहरूको निकट सम्पर्कमा आएकाहरूको जाँच गरिँदै छ ।

भारतले गत साता नै कैयन अन्य देश जस्तै यूकेबाट विमान सेवामार्फत् आवतजावतमा रोक लगाएको थियो ।

यो नयाँ प्रकारको कोरोना पुरानोभन्दा धेरै सङ्क्रामक रहेको ठानिए पनि थप घातक भने नभएको विज्ञहरूले बताउने गरेका छन् ।

एक करोडभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमितहरू फेला परिसकेको भारत त्यस मामिलामा विश्वमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

यूकेबाट आएका यात्रुहरूलाई सबै विमानस्थलमा पीसीआर परीक्षण गरिने सरकारी अधिकारीहरूले बताउने गरेका छन् ।

तिनमा कोरोनाभाइरस पुष्टि भएमा ती नमुनाहरूलाई सरकारी प्रयोगशालामा आनुवंशिक परीक्षण गरेर कुन प्रकारको हो भनेर पत्ता लगाइन्छ ।

गत एक महिनामा यूकेबाट ३३ हजार मानिस भारत आएको आँकडा छ । तीमध्ये ११४ जना पोजिटिभ पाइएको र तिनको नमुनाको थप परीक्षण भइरहेको बताइएको छ ।

क्यानडा जापान, स्पेन, स्वीडेन तथा फ्रान्समा पनि नयाँ प्रकारको कोरोना भेटिएको छ ।

यूकेमा केही समययता सङ्क्रमण निकै तेज गतिमा फैलिरहेको भन्दै त्यहाँका अधिकारीहरूले चिन्ता व्यक्त गरिरहेका छन् ।

सोमवार त्यहाँ ४१,३८५ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने ३५७ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्