ओली लोकतान्त्रिक गणतन्त्र नै सिध्याउने खेलमा लागे: उपेन्द्र यादव



काठमाडौं: जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । ओलीले प्रतिनिधिसभा विघटनसँगै संघीय लोकतान्त्रिक गणतन्त्र नै सिध्याउने खेलमा लागेको उनले आरोप लगाएका छन् ।

जसपाले मंगलबार भैरहवामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै पनि अधिकार संविधानले दिएको छैन । तर पनि उहाँले संविधान विरुद्धको कदम चालेर लोकतन्त्र सिध्याउन आफै उद्दत रहेको पुष्टि गर्नुभयो ।’

प्रधानमन्त्रीले विघटन गर्न गरेको संसदलाई अदालतले पुनस्र्थापना गर्नेमा आफू विश्वस्त रहेको उनले बताए । अदालतले संसद विघटनलाई नसच्याए आफूहरू जनतामाझ जाने र आन्दोलनको बलबाट संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णय फिर्ता गराउने बताए ।

यादवले पार्टी भित्रको समस्या समाधान गर्न नसकेर प्रधानमन्त्री ओलीले देशलाई नै अस्थिरतातर्फ धकेलेको आरोप पनि लगाए । यादवले राष्ट्रपतिले संविधानको रक्षा गर्नुपर्नेमा संविधानको मर्ममाथि नै प्रहार गरी असंवैधानिक र अलोकतान्त्रिक कार्य गरेको बताए ।

प्रकाशितः १४ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्