संसदीय दलको नेताका रुपमा कुनै काम नगर्न मुख्यमन्त्री राईलाई उपनेताको खबरदारी



काठमाडौं: नेकपा प्रदेश १ संसदीय दलका उपनेता टङ्क आङ्बुहाङले मुख्यमन्त्री शेरधन राईलाई दलको नेताको हैसियतमा कुनै काम नगर्न खबरदारी गरेका छन् ।

आङबुहाङले अविश्वासको प्रस्ताव परेकाले संसदीय दलको नेताको हैसियतमा काम नगर्न आज पत्रमार्फत् भनेका हुन् ।

नेकपा विवाद बढेसँगै प्रचण्ड-माधव समूहले मुख्यमन्त्री राईविरुद्ध आइतबार अविश्वासको प्रस्ताव पेस गरेको थियो । सोमबार नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।

मुख्यमन्त्रीलाई काम नगर्न निर्देशन दिने उपनेता प्रचण्ड-माधव पक्षका हुन् भने सोमबार सांसदलाई स्पष्टीकरण सोध्ने प्रमुख सचेतक राजभण्डारी ओली समूहका हुन् ।

स्पष्टीकरणमा प्रस्ताव फिर्ता लिएर २४ घण्टा भित्र स्पष्टीकरण पेस नगरे कारवाही गर्ने चेतावनी दिइएको थियो । तर पत्र पठाएको २४ घण्टा नबित्दै आज बिहान उपनेता टङ्क आङ्बुहाङले दलका नेता राईलाई निर्देशनात्मक पत्र पठाउँदै दलको नेताको रुपमा काम नगर्न भनेका हुन् ।

ओली पक्षका मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड-माधव समूहका ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । संसदीय दलको विधानको प्रावधान अनुसार मुख्यमन्त्रीलाई पत्राचार गरिएको उपनेता आङबुहाङको भनाइ छ ।

प्रकाशितः १४ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्