आठौँ ‘राष्ट्रिय पोशाक दिवस’ मनाइयो



काठमाडौं : आज आठौँ राष्ट्रिय पोशाक दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

‘हाम्रो शान हाम्रो स्वाभिमान राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आठौँ राष्ट्रिय पोशाक दिवस मनाईएको हो ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको माइतीघर मण्डलामा विशेष कार्यक्रम गरी राष्ट्रिय पोशाक दिवस मनाएको छ ।

अंग्रेजी नयाँ वर्षको पहिलो दिनसमेत पर्ने यस दिनमा देश विदेशमा छरिएर रहेका नेपालीहरुले नेपाली पोशाक दौरा सुरुवाल, टोपी, गुन्युचोली लगाएर प्रचार-प्रसार गर्ने गरेका छन् । वि.सं. २०७० साल पौष १७ गते गतेदेखि यस दिनलाई राष्ट्रिय पोशाक दिवसका रुपमा मनाउन थालिएको छ ।

यस दिवसको संयोजन गर्दै आएका राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले नेपाली मौलिकता तथा संस्कृतिलाई विदेशी संस्कृतिले धरासयी बनाउन लागेको अवस्थामा नेपाली संस्कृति र सभ्यतालाई विश्वभर उजागर गर्न राष्ट्रिय पोशाक दिवसको सुरुवात गरिएको बताए ।

सरकारले नेपालको सबै जातजाति, भाषा, धर्म, संस्कृतिलाई प्रतिनिधित्व गर्ने साझा पोशाक घोषणा गर्नुपर्ने उनले बताए । यस दिन देश तथा विदेशमा छरिएर रहेका नेपालीहरुले स्वस्फुर्त रुपमा दौरा सुरुवाल तथा गुन्युचोली लगाएर विभिन्न कार्यक्रमहरुमा भागलिने तथा सामाजिक सञ्जालमा प्रचार–प्रसार गर्दै आएका छन् ।

प्रकाशितः १७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्