पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड आज भारत जाँदै



काठमडौं : नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (सोमबार) पत्नी सीताको उपचारका लागि भारत जाँदै छन् । सीता दाहालले एक्लै जान नमानेका कारण अस्पतालमा भर्ना गर्नका लागि मात्रै प्रचण्ड भारत जान लागेका हुन् ।

बुधबार एक्कासी सीताको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । बिहीबार अस्पतालबाट डिस्चार्ज भएपछि थप उपचारका लागि आज भारत लैजान लागिएको हो ।

यसअघि उपचारका लागि प्रचण्डले २०७५ साउनमा सिंगापुरस्थित एमटी एलिजावेथ अस्पताल लगेका थिए । त्यस अस्पतालले सीतालाई लागेको रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) भएको पुष्टि गरेको थियो ।

त्यसपछि विभिन्न अस्पतालमा उपचार गराउँदै आए पनि उनको स्वास्थ्यमा सुधार भएको छैन । २०७५ चैत ३ गते अमेरिकाको जोन हकिन्स अस्पताल लगेर पनि उपचार गराइएको थियो ।

यस्तै २०७६ साउनमा यूएईस्थित एक अस्पताल र पुसमा भारतको हरिद्वारमा रहेको पतञ्जली योगपिठमा लगेर आयुर्वेदिक विधिबाट पनि सीताको उपचार गरिएको थियो ।

प्रचण्ड पत्नी सीता ०७४ को दसैँअघि पहिलोपल्ट गम्भीर बिरामी परेकी थिइन् । सोही वर्षको मंसिर ३ गते उनका छोरा प्रकाशको निधनपछि गम्भीर बिरामी भएकी हुन् ।

आज श्रीमतिलाई लिएर मुम्बइ जान लागेकोबारे हिजो बसेको स्थायी कमिटी बैठकमा पनि जानकारी गराएका थिए ।

प्रकाशित : पुस २०, २०७७

प्रतिक्रिया दिनुहोस्