शक्ति बिस्तार गर्न चिनयाँ सुरक्षा कानून संशोधन



काठमाडौं : केन्द्रीय सैन्य आयोग (सिएमसी) को शक्ति बिस्तार गर्नका लागि चिनयाँ राष्ट्रिय सुरक्षा कानून संशोधन गरिएको छ ।

२६ डिसेम्बरमा गरिएको संशोधन एक जनवरीदेखि लागू भएको छ । यससँगै सिएमसीको भूमिका बढेको छ भने सैन्य नीति बनाउनेलगायतका कामहरु गर्दै आएको स्टेट काउन्सिलको भूमिका कमजोर भएको छ ।

देश र विदेशमा राष्ट्रिय हितको रक्षामा कानूनको प्रयोग हुनेछ । यस संशोधनसँगै अब सिएमसीले सेना सम्बन्धी निर्णय लिने सम्पूर्ण शक्ति प्राप्त गरेको छ । साउथ चाइना मर्निङ पोस्टकाअनुसार सशस्त्र बललाई समेत तैनाथ गर्ने आधार तय गर्नका लागि पहिलोपटक ‘विकास हित’ र ‘विकास हितसहितको सुरक्षा’ जस्ता शब्दावली थपिएको छ ।

दुई वर्षको विचार–विमर्शपछि नेशनल पिपुुल्स काँग्रेसले २६ डिसेम्बरमा कानून संशोधन गरेको हो, जसअन्तर्गत तीनवटा पुराना धारा हटाइएको छ । ६ वटा नयाँ धारा थप गरिएको छ । चिनियाँ सेना विश्वका शक्तिशाली सेनाहरुमध्ये एक मानिन्छ । चीनले पछिल्ला वर्षहरुमा आफ्नो सैनिक खर्च पनि बढाउँदै लगेको छ ।

चिनियाँ सेनामा २० लाख ३५ हजार सक्रिय सैनिक छन् । त्यस्तै, ५ लाख १० हजार रिजर्भ सेना छ । चीन विश्वमा सबैभन्दा धेरै सक्रिय सैनिक भएको देश हो । चीनपछि अमेरिकी सेनामा १३ लाख र रुसी सेनामा १० लाख सक्रिय सैनिक छन् । एजेन्सी

प्रकाशित :२१ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्