कविता र शक्ति ‘एउटा यस्तो प्रेम कहानी’ बाट डेब्यू गर्दै



काठमाडौं : नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर चलचित्र क्षेत्रमा प्रवेश गर्ने भएका छन् ।

उनीहरु ‘एउटा यस्तो प्रेम कहानी’ बाट चलचित्र क्षेत्रमा डेब्यू गर्न लागेका हुन् । चलचित्र निर्माणको घोषणा केही वर्ष अगाडि नै गरिएको थियो । तर अब निर्माण पक्षले चलचित्र रिलिज हुने तयारी गरेकोे जनाएको छ ।

दिनेश दर्शनधारी र यशोधा राइको लगानीमा बनेको चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका छन् । चलचित्र माघ १ गते रिलिज हुनेछ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको शिर्ष गीत सार्वजनिकसमेत गरिएको छ ।

सार्वजनिक गीतमा शक्ति श्रेष्ठ र कविता मानन्धरको रोमान्टिक अवतार देख्न सकिन्छ । बसन्त सापकोटाको संगीत, सुष्मा राइको शब्द रहेको गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर रहेको छ ।

शिव श्रेष्ठको प्रस्तुतिमा तयार भएको चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, मिथिला शर्मा, बसुन्धरा भुषाल, नरेन खड्कालगायतका कलाकारको अभिनय छ ।

चलचित्रबाट शक्ति, कविता र संयक दर्शनधारीले डेब्यू गर्दै छन् । चलचित्रमा सुनिल कटुवाल, राम नारायण शाह, दिनेश थापामगर, खुम तामाङ, तारा तुलाधर सह–निर्माताको रुपमा रहेका छन् ।

प्रकाशित :२२ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्