हातहतियार कारोबारीसहित ८ अभियुक्त सार्वजनिक



बाँके : विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका व्यक्तिहरुलाई बाँके प्रहरीले सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमार्फत् प्रहरीले ६ वटा घटनामा संलग्न अभियुक्तहरुलाई सार्वजनिक गरेको हो । जसमध्ये अवैध हतियारको कारोबारीदेखि मादक पदार्थ सेवन गरी सवारी चलाउनेसम्म रहेका छन् ।

अवैध हतियारसहित डुडुवा गाउँपालिका १ का दिपक कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले आफ्नै पसलमा बसिरहेका चौधरीलाई खानतलासी गर्दा कम्मरमा बेल्टले च्यापेर राखेको कटुवा पेस्तोल बरामद गरेको हो ।

त्यसै गरी, प्रहरीले मोटरसाइकल चोरीमा संलग्न नेपालगन्ज ८ का विपिन बस्नेतलाई पक्राउ गरेको छ । गणेशपुरको तन्नु पान पसल अगाडि रोकिराखेको मोहम्मद जसगरको भे १० प ४७८९ नम्वरको मोटरसाइकल चोरेको अभियोगमा बस्नेत पक्राउ परेका हुन् ।

यस्तै, बाँके प्रहरीले हालसम्म ४ सय ७८ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको एसपी रानाले जानकारी दिए । उनले भन्सार छलि नेपाल ल्याउँदै गरेको अवस्थामा १ लाख ३० हजार मूल्य बराबरको मोबाइलका सामग्री बरामद गरेका जनाए ।

प्रहरी प्रमुख रानाले विभिन्न समयमा हराएका ५५ वटा मोबाईल फेला पारेर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको जानकारी दिए । यौन दुरुपयोगको मुद्दामा अदालतबाट ६ महिना कैद सजाए भएर फरार भएका नेपालगन्ज १ बस्ने आकाश सार्कीलाई पक्राउ गरिएको हो ।

उनलाई २०७५ साल फागुन २९ गते अदालतले दोषी ठहर गर्दै ६ महिना कारागार चलान गरेको थियो ।

प्रकाशित :२२ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्