ओली संघीय गणतन्त्र खारेजीको दिशामा : यादव



वीरगञ्ज : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको घोषणा जनताको ध्यान भड्काउन फालिएको तुरुप भएको बताएका छन् ।

मंगलबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘निर्वाचनको घोषणा गरिसकेपछि सरकार काम चलाउ हुन्छ, तर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामचलाउ ठान्नु भएको छैन, सरकार विस्तार गर्नुभएको छ । निर्वाचनको नाममा एउटा तुरुप मात्रै फाल्या हो, निर्वाचनतिर सबैको ध्यान जान्छ, आफूले चालेको असंवैधानिक कार्य, गैरलोकतान्त्रिक कार्य अघि बढाउन सकिन्छ भनेर मात्रै हो । ओलीको नेतृत्वमा हुने चुनावको विश्वसनीयता र निष्पक्षता पनि सम्भव छैन ।’

प्रधानमन्त्रीको साथमा प्रतिगमनकारी शक्तिहरु, संघीयता र लोकतन्त्र विरोधी शक्तिहरुको अघोषित संयुक्त मोर्चा रहेको दाबी गर्दै उनले भने–‘यही बेलामा पुराना शक्तिहरु, निरंकुशकालीन शक्तिहरु मौकामा चौका हान्न पाइन्छ कि भनेर उफ्रिरहेका छन्, नेपाली जनता २०१७ सालको अवस्थामा हैन, २०७७ सालमा छन् । चेतना र लोकतान्त्रिक भावनाबाट ओतप्रोत छन् । निश्चितरुपमा कमी कमजोरी अरुमा पनि हुन सक्छ । त्यसको मतलब लोकतन्त्रलाई समाप्त पारेर निरंकुश तन्त्र ल्याउने हैन ।’

सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको कदमलाई नै सदर गर्‍यो भने के गर्नुहुुन्छ रु भन्ने पत्रकारको जिज्ञासमा उनले राजनीतिक समस्याको समाधान अदालतले गर्नै नसक्ने ठोकुवा गरे । ‘सर्वोच्च अदालतको सम्मान गर्छौं, तर राजनीतिक क्राइसिसको समाधान न्यायालयले दिन सक्दैन, पोलिटिक्सले नै दिन्छ । यो संकट कहाँबाट आयो रु लोकतन्त्र, संघीयताको विरुद्ध र पक्षका शक्तिबीचको द्वन्द न हो,’ उनले भने, ‘संघीय गणतन्त्रलाई खारेज गर्ने र मुलुकलाई पछाडि धकेल्ने गरी प्रधानमन्त्रीको राजनीतिक कदमले नै राजनीतिक संकटमा मुलकलाई धकेलेको छ । त्यसको समाधान राजनीतिक रुपमै हुनुपर्छ ।’

‘प्रधानमन्त्री ओलीको कदम संसद भंग गर्नेमा मात्रै सीमित छैन, नेपालमा भएको जनविद्रोह, मधेस आन्दोलन, सशस्त्र विद्रोह, जनआन्दोलनको परिणाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनेको छ । संघीयता, गणतन्त्र र समावेशितालाई समाप्त पार्न खोज्नुभएको छ,’ उनले भने, ‘संविधानमा कतै व्यवस्था नभएको, नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरिएको छ । लोकतन्त्र, संघीयता, गणतन्त्रमाथि संकट उत्पन्न भएको छ । प्रधानमन्त्रीको यो कदम लोकतन्त्र गणतन्त्र र संघीयतालाई सिध्याउनकै लागि आएको हो ।’

प्रतिक्रिया दिनुहोस्