प्रचण्ड र माधव नेपालले भने : सरकारबाट गणतन्त्र र संविधानमाथि प्रहार भएको छ



काठमाडौं : नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले माघी पर्वको शुभकामना सन्देश जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट भएर अगाडि बढ्न अपिल गरेका छन् ।

माघीको अवसरमा बिहीबार बिहान जारी शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाली जनताको बलिदानी पूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट भएर अगाडि बढ्न यस पर्वको अवसरमा आदिवासी जनजाति लगायत सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अपील गर्दछौं ।’

शुभकामना सन्देशमा विभिन्न भू–भागमा छरिएर रहेका समुदायका यस्ता चाडपर्वहरु राष्ट्रको समुच्च मौलिक पहिचान भएको उल्लेख छ ।

‘भौगोलिक विविधतायुक्त नेपालका सामुदायिक सांस्कृतिक सहिष्णुता र पारस्परिक एकता परम्परागत धरोहर हुन् । यिनै मार्फत नेपालीहरुमा आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको विकास भएको हो,’ शुभकामनामा भनिएको छ । नेपाली जनताको आपसी एकताबाट पैदा भएको परिवर्तनकामी सोचका कारण नेपालमा सामाजिक र राजनीतिक परिवर्तन सम्भव भएको अध्यक्षद्धयले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्