प्रचण्ड र नेपालसँगको भेटपछि देउवा ओलीप्रति आक्रामक



काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दुई दिनयता प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रामक देखिएका छन् । नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भएको गोप्य भेटघाटपछि देउवा अचानक ओलीप्रति आक्रामक बनेका छन् । यसअघि देउवा ओलीप्रति विरोध गर्दा पनि नरम भाषा प्रयोग गर्दैआएका थिए ।

पर्वतका हरिदत्त तिवारीको स्मृति सभामा हिजो सम्बोधन गर्न पुगेका देउवाले ओलीप्रति आक्रामक शैलीमा प्रस्तुत भए । उनले प्रधानमन्त्रीबाटै अदालतलाई धम्क्याउने गरिएको भन्दै ओलीको कडा विरोध गरे । सर्वाेच्च अदालतमा विचाराधीन रहेको मुद्दाका विषयमा प्रधानमन्त्री ओलीले यसो गर उसो गर भन्दै हिडेकोमा कडा प्रतिवाद गर्दै सभापति देउवाले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत प्रधानमन्त्रीबाट अदालतलाई धम्क्याउने काम भएको बताए ।

धनगढीको सभामा र त्यसको भोलिपल्ट राष्ट्रिय सभामा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन मुद्दा संवैधानिक इजलासबाटै सुनुवाइ हुनुपर्ने बताएका थिए । उनले विघटित प्रतिनिधि सभा पुनस्र्थापना हुन नसक्ने भन्दै सर्वाेच्चबाट विघटन सिफारिस सदर हुने बताएका थिए । विघटनविरुद्ध सर्वाेच्चमा रिट निवेदन दिने कानुन व्यवसायीहरुले संवैधानिक इजलासको सट्टा सर्वाेच्चको वृहत पूर्ण इजलासबाट सुनुवाइ हुनुपर्ने माग राख्दैआएका छन् । रिट निवेदकहरुको गरेको मागप्रति ओलीले आक्रोश पोख्दै संवैधानिक इजलासबाटै सुनुवाइ हुनुपर्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीको त्यो अभिव्यक्ति गलत भएको भन्दै देउवाले अदालतलाई कसैले पनि दबाब र प्रभाव दिन उचित नहुने बताए । ओलीबाट व्यक्त अभिव्यक्तिपछि प्रचण्ड र नेपालले दुई दिनअघि बुढानीलकण्ठस्थित निवासमा देउवालाई भेटेका थिए । भेटका क्रममा प्रचण्ड र नेपालले संसद पुनर्स्थापनाको पक्षमा उभिन र आगामी दिनमा सहकार्य गरेर अघि बढन देउवालाई आग्रह गरेका थिए । त्यस क्रममा प्रचण्ड र नेपालले संसद पुनस्र्थापना भए प्रधानमन्त्री बन्न पनि देउवालाई प्रस्ताव गरेका थिए । त्यस प्रस्तावमा देउवाले तत्काल केही प्रतिक्रिया नदिए पनि अदालतबाट हुने निर्णयअनुसार आफू अघि बढने बताएका थिए । तर त्यसको दुई दिनपछि नै पर्वतमा आयोजित एक कार्यक्रममा देउवाले ओलीप्रति आक्रोश व्यक्त गरे ।

‘संविधानको व्याख्या गर्ने अधिकार सर्वाेच्च अदालतको हो, प्रधानमन्त्रीले यसो गर वा उसो गर भनेर निर्देशन दिन पाउँछ, यो अदालतमाथि दबाब हो’, देउवाले ओलीले संसद विघटन गरी असंवैधानिक काम गरेको भन्दै अदालतमा विचाराधीन विषयमा काँग्रेसले केही प्रतिक्रिया नदिने बताए । देउवाको अकस्मात यूटर्न हुनुको पछाडि भावी राजनीतिक अवस्था हुनसक्ने विश्लेषकहरुले बताएका छन् । अहिलेसम्म ओलीसँग भित्री साँठगाँठ रहेको आरोप लागेका देउवा संसद पुनर्स्थापना भएपछि आफ्नो पक्षमा राजनीति दाउपेच पार्न व्यालेन्स बनाएको हुनसक्ने ती विश्लेषकले बताए ।

प्रतिक्रिया दिनुहोस्