कर्णालीमा छोरा तिहार



सुर्खेत : भाइतिहार सकिएको दुई महिनापछि कर्णालीवासीले आज ‘छोरा’ तिहार मनाएका छन् ।

प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशमा धुमधामका साथ छोरा तिहार मनाउने गरिन्छ । आज बिहानै छोराहरुले नुहाइधुवाइ गरेर आमाको हातबाट टीका थापेका छन् ।

भाइटीका जस्तै छोरा तिहारमा आमाले छोरालाई अक्षता, गलामा माला र सगुनको रूपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनी रोटीजस्ता परिकारसहित छोरालाई टीका लगाउने प्रचलन छ ।

टीकासँगै छोरालाई दीर्घायु र प्रगतिको कामना गर्दै आशीर्वाद दिने गरिन्छ । छोराले पनि आमालाई दक्षिणाको रूपमा आफूले सक्दो पैसा, धोती चोलीलगायतका कोसेली दिएर टीका थाप्ने गरिन्छ । आमाको हातबाट टीका थाप्नका लागि जिल्ला बाहिर पुगेका छोरा पनि आजको दिन घर पुग्ने गर्दछन् ।

कुनै काम विशेषले घर पुग्न नसक्ने छोराले टेलिफोनबाटै भए पनि आशीर्वाद लिने र आमाले पनि छोराका लागि बनाएको कोसेली छुट्याएर राखिदिने गरिन्छ । छोरा तिहारमा आमाको हातबाट टीका थापिसकेपछि सम्पूर्ण पुरुष जम्मा भई प्रत्येक घरघर तथा गाउँबस्तीमा पुगेर भाइटीकामा देउसी भनेजस्तै भैलो खेल्ने प्रचलन छ ।

यसरी भैलो खेलेर उठेको रकमबाट धारा, पधेँरा, बाटोलगायतका सार्वजानिक सम्पदा मर्मतसम्भार गरिन्छ भने बचेको रकमबाट वनभोज जाने गरिन्छ । आजको दिनमा महिला पनि सार्वजानिकस्थलमा भेला भएर चुट्कीला देउडा खेलेर रमाइलो गर्ने र एकअर्काको पिरव्यथा साटासाट गर्ने गर्छन् ।

डोल्पालगायत कर्णालीका अन्य जिल्लामा मनाइने छोरा तिहार कर्णालीमा कतै पनि नमनाइने त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीयवासी रमानन्द उपाध्यायले बताएका छन् । भाइ तिहारमा खेलिनेलाई देउसी र छोरा तिहारमा खेलिनेलाई भैलो भनेर भनिने उनले बताए ।

यो भैलो तिहारको देउसीभन्दा फरक ढङ्गबाट र फरक लयमा खेलिने गर्दछ । भैलो खेलेर मागेको चामल, धान, पैसा सबै भैलो खेल्न गएकाहरु सबै जना मिलेर पाठी भात (स्थानीय भाषामा) वनभोज खाने प्रचलन रहेकोसमेत उपाध्यायले बताएका छन् । छोरा तिहारमा आमा नहुनेहरुले भने स्थानीय मठमन्दिरमा गएर पुजारीको हातबाट टीका, अक्षता लगाएर छोरा तिहार मनाउने गर्दछन् ।

प्रकाशित :२ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्