आज ७५३ वटै स्थानीय तहमा तहमा विरोध प्रदर्शन गर्दै कांग्रेस



काठमाडौं : नेपाली कांग्रेसले आज (शनिबार) देशका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ । संसद् विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्ने भएको हो ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबारै विज्ञप्ति जारी गरी विरोध प्रदर्शनमा सहभागी हुन सबैलाई अपिल गर्नुभएको छ । विरोधमा सहभागी भएर प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता प्रकट गर्न उनले आह्वान गरेका छन् ।

’जुटौं संसद विघटनको असंवैधानिक कदमका विरुद्धमा उठौं लोकतान्त्रिक संविधान रक्षाका पक्षमा ’नारा लिएर पालिकामा प्रदर्शन गर्न कांग्रेसले जनाएको छ । यसअघि कांग्रेसले गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ ।

ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा सडक प्रदर्शन गर्न सुरु गरेको हो । पुस ५ गते मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि राजनीतिक दलहरु सडक संघर्षमा छन् ।

कुन नेताले कुन ठाउँमा गर्दैछन् सम्बोधन ? 

काँग्रेसका शीर्ष नेताहरुले विरोधसभामा सहभागी भएर कार्यक्रमलाई सम्बोधन गर्दैछन् । सभापति देउवाले काठमाडौं, वरिष्ठ नेता पौडेले चितवनको शारदानगरमा विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै महामन्त्री डा शशांक कोइरालाले नवलपुरको देवचुली नगरपालिकामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पूर्वमहामन्त्री प्रकाशमानसिह काठमाडौँ महानगरपालिका र नेता गगन थापाले बूढानीलकण्ठको हात्तीगौंडा र ललितपुरको महाकाल गाउँपालिकामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै नेता डा मिनेन्द्र रिजाललाई नेपालगञ्ज र डा. शेखर कोइरालाले मोरङका दुई वटा विरोधसभामा सम्बोधन गर्ने कार्यतालिका छ ।नेता प्रदीप पौडेल विराटनगर र प्रवक्ता विश्वप्रकाश शर्मा भक्तपुरमा हुने विरोधसभालाई सम्बोधन गर्ने छन् । यस्तै नेता अर्जुननरसिंह केसी र डा. रामशरण महतले नुवाकोटको देवीघाटम हुने विरोधसभा सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै सहमहामन्त्री प्रकाशरण महतले कागेश्वरी मनोहरा नगरपालिकाको वीरेन्द्रचोक र गोठाटारको विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । नेता धनराज गुरुङ्ग चितवनको खैरेहनीमा र प्रकाश रसाइली स्नेही हेटौडाको विरोसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै नेता गुरुराज घिमिरे र नैनसिह महर काभ्रे जाने कार्यक्रम तय भएको छ । नेता वीरबहादुर बलायरले डोटीमा र जीवन बहादुर शाहीले मुगुको रुसकोट, माँझचौर, खत्याडको विरोधसभालाई सम्बोधन गर्ने छन् । यस्तै काँग्रेसका केन्द्रीय अधिकांश नेताहरुले पनि गृहजिल्लाको विरोधसभामा सहभागी हुँदै छन् ।

प्रतिक्रिया दिनुहोस्