जन्ती जाँदा रुने र मलामी जाँदा हाँस्ने केपी ओली होइनौं : प्रचण्ड



काठमाडौं । नेकपा प्रचण्ड पक्षका अभ्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले संविधानमाथि प्रहार गरेकोले आक्रामक हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको पूर्ण बैठकलाई आइतबार सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओलीजीले ठूलो षड्यन्त्र गरेका छन् । संविधानमाथि प्रहार भएको छ । हामी आक्रामक हुनुपर्ने देखिएको छ ।‘
‘असंवैधानिक रुपमा संसद विघटन गरिएपछि हामी पक्कै पनि गम्भीर स्थितिमा छौँ । हाम्रो आन्दोलन पनि आवेग र आक्रोशका साथ अलिकति जुझारु हुन जरुरी छ,’ उनले भने ।
यस्तै गणतन्त्रको उत्सव मनाउँदा ओली रोइरहेको भन्दै संघर्षबाट प्राप्त उपलब्धिको हत्या गरेर हाँसी रहेको प्रचण्डको भनाइ छ । उनले भने, ‘त्यो बेला गणतन्त्र आउँदै थियो, हामीलाई उत्सव थियो । देशवासीलाई उत्सव थियो । त्यस्तो बेला बयलगाडाको कथा हाल्दै हिँड्नुभयो । गणतन्त्र आउन लाग्यो भनेर रुँदै हिँड्नुभयो ।’
संविधानको मूल मर्ममाथि प्रहार भएको बेला आफूहरु रमाइलो गर्न नसक्ने उनको भनाइ छ । चार दशकको संघर्षबाट प्राप्त उपलब्धिको संकेन्द्रित अभिव्यक्ति संविधान भएको उनले बताए । ‘मैले हसाएँ भनेर किन पीर प¥याहोला ? भनेर केपी ओलीले मलाई नै भन्नुभएको हो । संघर्षबाट प्राप्त उपलब्धिको हत्या भएको छ । हामी जन्ती जाँदा रुँदै जाने र मलामी जाँदा पनि हास्दै हिँड्ने हामी केपी ओली जस्तो होइनौं । हामी मलामी जाँदा चिन्ता गरेरै हिँड्छौँ र जन्ती जाँदा हाँस्ने गरेरै हिँड्छौँ । हामी त्यस्ता स्वभाविक मान्छे हौंँ । तर, उहाँ अस्वभाविक हुनु भएको छ । हामी मजाकको मुडमा छैनौं’ प्रचण्डले भने ।
खुलेआम भ्रष्टाचार भयो भनेर विरोध गर्दा न्यायाधीशजस्तो बनेर ओलीले सफाइ दिने गरेको प्रचण्डको आरोप छ । ‘खुलेआम भ्रष्टाचार भयोभन्दा तपाईं न्यायाधीश टोपलिएर आफैंले संरक्षण गर्ने ? होइन उहाँ त भ्रष्टचारी भन्ने ? अख्तियार र अदालतमा मुद्दा परेका मानिसलाई सफाइ दिँदै तपाईं किन हिँड्दै हुनुहुन्छ ?’ उनले प्रश्न गरे ।
प्रचण्डले संसद विघटनसम्बन्धी मुद्दाको निर्णय अदालतले संविधानको अक्षर र भावनालाई हेरेरै गर्ने पनि विश्वास व्यक्त गरे । ‘संसद विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ । यसबारेमा म धेरै भन्न चाहन्न तर अदालतले संविधानको अक्षर र भावनालाई हेरेर निर्णय गर्छ भन्ने हामी विश्वास छ’ उनले भने । प्रचण्डले दुई तिहाइ केन्द्रीय कमिटी आफूहरुतिर रहेकाले नेकपा र सूर्य चिन्ह आफूहरुले नै पाउने दाबी गरे । ‘नेकपा हाम्रो हो र सूर्य चिन्ह पनि हाम्रै हुनेछ’ उनले भने, ‘यो विषयमा तपाईंहरु द्विविधामा बस्नु पर्दैन ।’

प्रतिक्रिया दिनुहोस्