निर्वाचन आयोग–राजनीतिक दल छलफल



काठमाडौं । निर्वाचन आयोगले सरकारले तोकेको वैशाख १७ र २७ गतेको प्रतिनिधिसभा निर्वाचनको सम्बन्धमा राजनीतिक दलका नेताहरुसँग छलफल गरेको छ ।
र निर्वाचन आयोगले संघीय संसद्, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग घोषित मितिमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगले गरिरहेको आन्तरिक तयारीको सम्बन्धमा आइतबार छलफल गरेको हो ।
छलफलमा आयोगले सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम, मतदान स्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको बारेमा नेताहरुलाई जानकारी गराई राय, परामर्श लिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
छलफलका क्रममा आयोगले निर्वाचन कार्यक्रममा सहभागी हुन राजनीतिक दलको तर्फबाट आम नागरिकलाई सुसूचित गराइदिन आग्रह गरेको थियो ।
छलफलमा नेकपा प्रचण्ड समूहका नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोगले भनेजस्तो निर्वाचन तयारीमा आफूहरु नलाग्ने बताए । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा तत्काल निर्वाचनको कार्यक्रम अघि नबढाउन आफूहरुले निर्वाचन आयोगलाई आग्रह गरेको उनले उल्लेख गरे । वैशाखमा निर्वाचन आयोगले निर्वाचन गर्नै नसक्ने उनले बताए ।
नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले आयोगको निर्वाचन कार्यक्रमको तयारीको पक्षमा आफूहरु रहेको बताए । आयोगले कुनै पनि समय निर्वाचन गराउन तयार रहनुपर्ने भन्दै उनले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरे त्यसलाई स्वीकार गर्ने तथा निर्वाचन भए निर्वाचनमा जानको लागि नेपाली कांग्रेस तयार रहेको उनको भनाइ छ ।
निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम माघ १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्