यसरी हुँदै अमेरिकी राष्ट्रपतिको सत्तारोहण



काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडन र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसको शपथ कार्यक्रममा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
उनीहरूले बुधबार शपथ लिँदै छन् । शपथ ग्रहणका वेला सशस्त्र आक्रमणको आशंका गर्दै वासिङटनमा २५ हजार सैनिक तैनाथ गरिएको छ । यो संख्या अफगानिस्तान, सिरिया र इराकमा तैनाथ कुल अमेरिकी सैनिकको ५ गुणा हो ।
विगत केही दिनदेखि अमेरिकी सुरक्षा संस्थाले शपथ ग्रहण समारोह अगाडि हिंसा हुन सक्ने आशंका गरेको छ । हजारौं प्रहरी र सुरक्षाकर्मीका साथै नेशनल गार्डका २५ हजारभन्दा बढी जवान तैनाथ गरिएको छ ।
राज्यका संसद् भवनमा सुरक्षा सतर्कता राखिएको छ । जनवरी ६ मा अमेरिकी संसद् भवनमा भीडले गरे जस्तो हिंसक आक्रामक घटना हुने आशंकामा सुरक्षा अधिकारीलाई सजग बनाइएको छ ।
एफबीआईले आफ्नो आन्तरिक बुलेटिनमा वासिङटन र ५० वटै राज्यका संसद् भवनमा हिंसा हुनसक्ने आशंका व्यक्त गरेको छ ।
यसैबीच एफबीआईले अमेरिकी संसद् भवन क्यापिटलमा भएको आक्रमणमा टेक्ससका दुईजनालाई गिरफ्तार गरेको छ । एफबीआईका एक प्रवक्ताले ४८ वर्षीय गाय रेफिट र ३७ वर्षीय म्याथ्यू कार्ल मजोक्कोलाई पक्राउ गरेको जानकारी दिएका छन् । रेफिटलाई कानुनी बाधा पु¥याएको र गैरकानुनी प्रवेशको आरोप लगाइएको छ । म्याथ्यूलाई क्यापिटलमा गैरकानुनी प्रवेश र उपद्रो गरेको आरोप लगाइएको छ ।
कानुनअनुसार जनवरी २० को दिन नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्छन् ।
प्रारम्भिक मन्तव्य ईसटीअनुसार बुधवार बिहान ११ः३० बजे (नेपाली समयानुसार राति १०ः१५ बजे) आरम्भ हुन्छ । जो बाइडन र कमला ह्यारिसको सपथग्रहण मध्यदिनमा हुनेछ ।
बाइडन त्यही दिन अलि पछि ह्वाइट हाउसमा प्रवेश गर्नेछन् र त्यो उनको आगामी चार वर्षका लागि निवास हुनेछ ।
सत्तारोहण समारोहणमा विस्तृत सुरक्षा योजना बनाइएको हुन्छ । तर जनवरी ६ मा राष्ट्रपति ट्रम्प समर्थकहरूको भिडले अमेरिकी संसद्मा आक्रमण गरेपछि थप सुरक्षा व्यवस्था मिलाइएको छ । उक्त दिन वाशिङ्टन डीसीको अधिकांश क्षेत्र बन्द हुनेछन् ।
अमेरिकी गुप्तचर निकायले सुरक्षा योजनाको नेतृत्व लिएको छ र हजारौँ प्रहरीहरूलाई सहयोग गर्न नेशनल गार्डका झन्डै १५ हजार सुरक्षाकर्मी खटाउन लागिएको छ ।
वाशिङ्टन डीसीमा अहिले नै सङ्कटकालको अवस्था छ र सत्तारोहणको दिनसम्म यस्तै रहनेछ । सुरक्षा प्रयासको नेतृत्व गरिरहेका एजेन्ट म्याट मिलरले शुक्रवार संवाददाताहरूलाई एक वर्षभन्दा बढी समयदेखि उक्त समारोहको योजना बनाउने काम चलिरहेको बताए ।
बाइडनले परम्परानुसार बाहिर नै शपथग्रहण गर्ने अडान व्यक्त गरिरहेका छन् । यसपालि सहभागीको सङ्ख्या भने कटौती हुनेछ ।
बहिर्गमन हुन लागेका राष्ट्रपतिले आफ्ना उत्तराधिकारीले शपथग्रहण गरेको हेर्ने अभ्यास छ । तर कहिलेकाहीँ त्यो परम्परा भङ्ग पनि हुनसक्छ । आफ्ना उत्तराधिकारी बाइडनको सत्तारोहण हेर्न राष्ट्रपति ट्रम्प नजाने भएका छन् । जनवरी ८ मा ट्वीट गर्दै उनले शपथग्रहण समारोहमा भाग नलिने उल्लेख गरेका थिए । त्यो दिन उनी आफ्नो फ्लोरिडास्थित निवासमा बस्ने अनुमान गरिएको छ । बराक ओबामा ट्रम्पको शपथग्रहण समारोहमा उपस्थित थिए
उनका कतिपय समर्थकहरूले उनीहरूले बाइडनले शपथ लिएकै समयमा अनलाइनमार्फत् राष्ट्रपति ट्रम्पको ‘दोस्रो सत्तारोहण’ को योजना बनाइरहेको उल्लेख गरेका छन् ।
साधारण अवस्थामा वाशिङ्टन डीसीमा लाखौँको सङ्ख्यामा मानिसहरू उक्त समारोहमा भाग लिन जाने गरेका थिए । सन् २००९ मा पहिलो कार्यकालका लागि राष्ट्रपति ओबामाले शपथ लिँदा २० लाख मानिस वाशिङ्टन डीसी पुगेको ठानिन्छ ।
तर यस पल्ट त्यस्तो उत्सव हुनेछैन । बाइडनको टोलीले सङ्ख्या एकदमै सीमित हुने भन्दै समर्थकहरूलाई राजधानीमा नआउन भनिरहेको छ ।
नयाँ राष्ट्रपतिको सत्तारोहण समारोहका लागि यूएस क्यापटिल अर्थात् संसद् भवनबाहिर मञ्च बनाइएको छ ।
सत्तारोहण समारोहमा नयाँ राष्ट्रपतिहरूले देशका लोकप्रिय कलाकारहरूलाई कार्यक्रम गर्न लगाउने गरेका छन् । महामारीका बीच यसपालि पनि त्यो परम्परालाई निरन्तरता दिइनेछ ।
बाइडन र ह्यारीससँगै नयाँ राष्ट्रपतिको समर्थक रहेकी लेडी गागाले साङ्गीतिक प्रस्तुति दिनेछिन् । उनले राष्ट्रिय गान गाउने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्