भारतीय एसएसबीद्वारा नेपालीमाथि कुटपिट, ठोरी तनावमा



वीरगञ्ज : भारतको ठोरी बजार गएका नेपालीलाई भारतीय एसएसबीले कुटपिट गरेपछि तनाव भएको छ ।

भारतीय बजारबाट समान लिएर ठोरी फर्किंदै गर्दा ठुटे खोला क्षेत्रमा एसएसबीले स्थानीयमाथि कुटपिट गरेको हो ।

एसएसबीका हिमांसु र जाकिर अलि खानले ठोरी गाउँपालिका-३ बुद्धनगरका बिष्णु घिमिरे, राजकुमार अधिकारी, भिमलाल तामाङ, विकास गुरुङमाथि लाठीचार्ज गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

नेपालीमाथि कुटपिट भएपछि ठोरीका स्थानीय र भारतीय सीमाबजार भिखना ठोरीका बासिन्दा ठुटेखोलामा जम्मा भएर एसएसबीको ज्यादतीविरुद्ध नाराबाजी गरेका छन् । स्थानीयले विरोध गरेपछि लाठीचार्ज गर्ने एसएबीका दुवै जवान भागेको बताइएको छ । आक्रोशित भिडलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

बिहीबार भिखनाठोरीमा हाटबजार गर्न गएका नेपालीलाई एसएसबीले कुटपिट गरेको स्थानिय गोकुली रेग्मीले बताइन् । उनले भनिन्, ‘बिहीबार भिखनाठोरीमा बजार लाग्छ, ठोरीबाट पनि मानिसहरु बजार गर्न जान्छन् । सँगै बजार गर्न गएका महिलालाई घर पठाएर पुरुषलाई एसएसबीले कुटपिट गरेको रहेछ,, दुवै देशका स्थानीय बासिन्दाले एसएसबीको ज्यादतीको विरोध गरेका थिए । ’

नेपालबाट बजार गर्न गएका महिलाहरुमाथि एसएसबीका जवानले चेकजाँच गर्ने बहानामा अभद्र व्यवहार गर्ने गरेको अर्की स्थानीय महिलाको भनाइ छ । नेपालीमाथि आक्रमण गर्ने एसएसबीका जवानलाई कारबाही गर्नुपर्ने माग दुवै देशका स्थानीयले गरेका छन् ।

प्रकाशित :८ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्