पहिलो चरणको निर्वाचन प्रदेश २, गण्डकी, लुम्विनी र सुदुरपश्चिम प्रदेशमा हुनेछ : प्रधानमन्त्री ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित सम्पन्न हुने बताएका छन् ।

सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अगामी बैशाख १७ र २७ गते दुईचरणमा हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैको उत्तिकै दायित्व रहने समेत बताए । उनले भने, “मुलुक निर्वाचनको तयारीमा लागेको छ । सुरक्षा निकायले अहम् भूमिका निर्वाह गर्ने बेला आएको छ ।”

प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश नं. दुईसहित गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा र दोस्रो चरणमा प्रदेश नं १ सहित वाग्मती र कर्णाली प्रदेशमा निर्वाचन हुने जानकारी दिए । “यसको औपचारिक निष्कर्ष निस्किसकेको छैन । कसो गर्दा उचित हुन्छ, त्यही अनुसार अघि बढ्नु पर्ला भन्ने सोचेको छ,” उनले भने ।

उनले सुरक्षा निकायलाई निष्पक्ष र विधिसम्मत तरिकाले अघि बढ्न आग्रह गरे। अहिलेका अवस्थामा केही तत्वबाट विभिन्न घटना घटाउने चेष्टा हुन सक्नेतर्फ ध्यानाकर्षण गराए । उनले घटना घट्नु अघि नै नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन दिए ।

यसका लागि अन्य सुरक्षाकर्मीसँग समन्वय गर्न सुझाव दिए । प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई सहजरुपमा अघि बढ्न नदिने चेष्टाका झलक देखिएको बताएका छन्र्।

प्रकाशित :९ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्