सवारी दुर्घटनामा चार जनाको मृत्यु



काठमाडौं : सिराहा र नवलपुरमा भएको छुट्टाछुटै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको प्रयागपुर खण्डमा शुक्रबार राति मोटरसाइकल र बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार मोटरसाइकल र यात्रुबाहक बस ठोक्किँदा मोटरसाइकलमा सवार धनुषा सबैला नगरपालिका–१३ का सचिन महतो र सुशिल महतोको मृत्यु भएको हो ।

धनुषाबाट पूर्वतर्फ ज ८ प ६४८४ नम्बरको मोटरसाइकलमा जन्ती गइरहेको बेला विपरीत दिशाबाट आइरहेको ना ५ ख ५२५४ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठक्कर दिने बसलाई धनुषाको ढल्केबरबाट नियन्त्रणमा लिइएको छ । उता, नवलपुर (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । कावासोती नगरपालिका वडा नम्बर ८ मा रहेको भित्रको सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।

मोटरसाइकल दुर्घटना हुँदा ज्यान गुमाउनेमा कावासोती नगरपालिका वडा नम्बर (३, बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती ८, बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए ।

प्रहरी नायब उपरीक्षक गिरीका अनुसार मोटरसाइकल अनियन्त्रित भएर सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्