कोरोना विरुद्धको खोप आज प्रदेशमा पठाइँदै



काठमाडौं : भारतले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको साढे चार लाख खोप आज (आइतबार) प्रदेशमा पठाइँदै छ । स्थानीय तहबाट खोप लगाउने फ्रन्टलाइनरको यकिन तथ्यांक संकलन नहुँदा खोप पठाउन ढिलाइ भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

खोप लगाउनेको यकिन तथ्यांक आइतबार बिहानसम्म संकलन गरी बेलुका अबेर भए पनि खोप पठाउन लागिएको विभागका व्यवस्थापन महाशाखा प्रमुख भीमसिंह तिंकरीले बताए ।

जिल्लागत विवरणका आधारमा प्रदेशमा खोप पठाउन लागिएको हो । १० लाखमध्ये दोस्रो चरणमा थप ४ लाख ५० हजार मात्रा पठाइने उनले बताए । ढुवानी गर्न खोपलाई आवश्यक पर्ने तापक्रमको उपकरण जडान गरिएको दुई वटा ट्रक तयारी अवस्थामा राखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १५ मा खोप लगाउन सुरु गर्ने घोषणा गरिसकेका छन् । विभागको योजनाअनुसार केन्द्रबाट प्रदेशमा खोप पु¥याउन दुई दिन र प्रदेशबाट जिल्ला अस्पतालसम्म पु¥याउन अर्को दुई दिन कम्तीमा लाग्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्