कोरोना खोप अभियान बुधबारदेखि



काठमाडौं ।सरकारले कोरोनाभाइरस विरुद्धको कोभिशिल्ड खोप १४ गतेदेखि दिन सुरु गर्ने भएको छ । कोरोनाविरुद्धको खोप अभियान १४ गते अर्थात बुधबार १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल मध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले जनाएको छ । भारत सरकारले अनुदान सहयोगमा दिएको १० लाख डोज खोप नेपाल सरकारले पहिलो चरणमा फ्रन्टलाइनमा रहेका कर्मचारीहरुलाई लगाइने निर्णय गरेको हो ।
आइतबार सातै प्रदेशका मुख्यमन्त्रीसँग भएको छलफलमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले १४ गते खोप कार्यक्रम सञ्चालन गर्ने बारे छलफल गरेका छन् । सरकारले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएको एक महिनापछि दोस्रो डोज लगाउने भएको छ ।
कोभिशिल्ड खोप आइतबार सातवटै प्रदेशको भण्डारण केन्द्रमा पु¥याइएको छ । सातवटै प्रदेशबाट आवश्यकताका आधारमा जिल्लाका अस्पतालहरुमा खोप वितरण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिने मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । ७७ जिल्लामा करिब ३ सय विभिन्न अस्पतालबाट खोप लगाइने कार्यक्रम छ ।
यसका लागि जिल्ला अस्पतालहरुमा खोपको बुथ तयार गरेको उनले बताए । दैनिक रुपमा ३० हजार जनालाई खोप दिइने छ । यस्तै उपत्यकाका सरकारी अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, टिचिङ अस्पताल, सशस्त्र प्रहरी बलम्बु अस्पताल लगाएतका अस्पतालमा बुथ राखेर खोप दिने तयारी गरिएको छ ।
खोप अभियानको प्रथम चरणको प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्सका चालक, शव व्यवस्थापक, सुरक्षाकर्मी पर्छन् ।

प्रतिक्रिया दिनुहोस्