पहिलो दिन ९ हजारले लगाए कोरोना खोप



काठमाडौं : नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको पहिलो दिन आज (बुधवार) देशभर ९ हजार जनाभन्दा धेरैले खोप लगाएका छन् ।

आज ६४ जिल्लाका ९३ खोप केन्द्रबाट ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज खोप लगाउनेमध्ये प्रदेश १ मा १ हजार २ सय ५५ जना, प्रदेश २ मा ७ सय २६ जना, वाग्मती प्रदेशमा २ हजार ६ सय ९४ जना र गण्डकी प्रदेशमा १ हजार ८ सय ४३ जना रहेका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा ७ सय ३३ जना, कर्णालीमा ७ सय ५१ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ८२ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप सरकारले केही दिनअघि ल्याएको थियो ।

७७ वटै जिल्लामा खोप केन्द्र सञ्चालन गरेर आउँदो १० दिनभित्र ४ लाख ३० हजार जनालाई पहिलो चरणको खोप दिने सरकारले जनाएको छ । पहिलो डोज खोप लगाएकाहरूले २८ दिनपछि दोस्रो डोज खोप लगाउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

खोप अभियानको शुभारम्भ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको लडाइँलाई नयाँ चरणमा उठाएको बताए । अब कोरोना नियन्त्रणका लागि महत्त्वपूर्ण चरणमा पुगेको भन्दै उनले ३ महिनाभित्र खोप लगाउन योग्य सबै नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने दाबी गरे । उनले कोरोनाविरुद्धको खोप नाफा कमाउने तथा व्यापारको माध्यम बन्न नहुने भन्दै सरकारले सबैलाई निः शुल्क उपलब्ध गराउने बताए ।

प्रकाशित :४ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्