४९ लाख रुपियाँसहित दुई जना पक्राउ



बारा : अबैधरुपमा भारतबाट ल्याउदै गरेको अवस्थामा ४९ लाख नेपाली रुपियाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।

बाराको फेटा गाउँपालिका वडा नम्बर–५ जोतपुरटोलस्थित नेपाल भारत सीमाक्षेत्र दशगजा नजिकैबाट नेपालतर्फ आउदै गरेको बि.आर.०५ वाई ६४१७ नम्बरको भारतीय मोटरसाईकल चेकजाँच गर्ने क्रममा ४९ लाख रुपियाँसहित दुई जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको छ ।

सो अबैध रुपियाँ साधारण झोला भित्र राखेर मोटरसाईकलमा झुण्ड्याएर आउदै गरेको अवस्थामा शंका लागी चेकजाँच गर्दा सो रुपियाँ बरामद गरिएको जनाइएको छ । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला हरपुर थाना वडा नम्बर–१० घोडासहन बस्ने अरबिन्द महतो र कलैया उपमहानगरपालिका वडा नम्बर–३३ बस्ने वर्ष १४ को नाबालक पक्राउ परेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।

प्रहरीले झोला भित्रबाट हजार दरका एक हजार ९२३ थान, पाँच सय दरका पाँच हजार ७०४ थान, सय दरका एक हजार दुई सय थान र ५० दरका एक सय थानगरी जम्मा रु.४९ लाख बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए । पक्राउ परेका दुबै अभियुक्तलाई बारा जिल्ला अदालतबाट आइतबार म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको प्रहरी उपरीक्षक शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्