अहिले निर्वाचनको वातावरण छ र ? : प्रधानन्यायाधीश राणा



काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले चुनावको वातावरणबारे सरकारी पक्षसँग जिज्ञासा राखेका छन् । प्रतिनिधि सभा विघटनविरुद्धको रिटको सुनुवाइका क्रममा आइतबार संवैधानिक इजलासमा उनले सरकारी पक्षका वकिल श्यामकुमार भट्टराईसँग यस्तो जिज्ञासा राखेका हुन् ।

सरकारको तर्फबाट बहस गरेका भट्टराईले राजनीतिक शक्तिको असफलता भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा जाने निर्णय गरेको बताए । उनले मुद्दाको फैसला कसैले अनुमान गरेको भन्दा फरक हुनुपर्ने बताउँदै प्रधानमन्त्रीको निर्णयअनुसार चुनाव हुनुपर्ने बताए ।

अदालतबाट विघटनविरुद्धको मुद्दामा बौद्धिक रुपमा आदर गर्न सकिने, सैद्धान्तिक रुपमा स्वीकार गर्न सकिने र व्यवहारिक खालको फैसला हुनुपर्ने उनको भनाइ थियो । प्रतिनिधि सभा विघटन राजनीतिक प्रश्न भएको जिकिर गर्दै उनले सबै कुरा जनताले फैसला गर्ने भनेपछि प्रधानन्यायाधीश राणाले चुनावको वातावरणबारे प्रश्न गरेका थिए । राणाले प्रतिनिधि सभा विघटनविरुद्ध सडक प्रदर्शन भइरहेको प्रति संकेत गर्दै अहिले ‘चुनावको सम्भावना छ ?’ भन्ने प्रश्न गरेका थिए । राणाले प्रश्न गरे, ‘ फ्लोरमा वातावरण हुनुपर्यो नि होइन ? अहिले जुन वातावरण छ, त्यो (चुनाव) सम्भावना छ ?’

जबाफमा भट्टराईले जनताले फैसला गर्ने हो श्रीमान भन्दै चुनावको पक्षमा वातावरण रहेको तर्क गरेका थिए । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै सडक आन्दोलन जारी रहेपछि इजलासमै यो विषयले प्रवेश पाएको हो ।

प्रतिक्रिया दिनुहोस्