इम्बोस्ड नम्बर अब अङ्ग्रेजी भाषामै



काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट वितरण अङ्ग्रेजी भाषामा नै अघि बढाएको छ । नेपाल प्रज्ञाप्रतिष्ठान र विभिन्न भाषा विज्ञले नम्बर नेपालीमा हुनुपर्ने माग गरे पनि आर्थिक भार पर्ने भनी विभागले अङ्ग्रेजीमा नै गरिने बताएको हो ।
विभागले विभिन्न कार्यालयमार्फत इम्बोस्ड नम्बर प्लेट वितरण अघि बढाइरहेको छ । नयाँ सबै सवारीसाधनमा र थोरै सङ्ख्यामा पुरानो सवारी साधनमा इम्बोस्ड नम्बरं प्लेट वितरण भइरहेको छ । सो नम्बर प्लेटका लागि उपकरणमा अङ्ग्रेजी भाषामा नै प्रणाली अघि बढेको विभागका निर्देशक रामचन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार पुनः नेपाली भाषामा गर्दा शुरुदेखि नै गर्नुपर्ने भएकाले समय र खर्च दुवै लाग्छ ।
प्रतिष्ठानका पदाधिकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर नम्बर प्लेट नेपाली भाषामा हुनुपर्ने माग गरेका थिए । सोही आधारमा छलफल अघि बढे पनि नेपालीमा गर्ने सम्बन्धमा कुनै निर्णय भएको थिएन । व्यावहारिकरुपमा पनि अङ्ग्रेजी भाषा नै ठीक हुने निर्देशक पौडेलले बताए ।
मन्त्रालयले गत साउनदेखि वाग्मती प्रदेशबाट सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट वितरण शुरु गरेको थियो । सवारीधनीले दुईपाङ्ग्रे सवारीसाधनका लागि गुर्जुधारास्थित कार्यालय, तीनपाङ्ग्रे साना तथा मझौला चारपाङ्ग्रे सवारीसाधनको नम्बर लिनका लागि टेकुस्थित भेहिकल फिटनेस सेन्टर जानुपर्नेछ ।
त्यस्तै ठूला सवारीसाधनका लागि एकान्तकुनास्थित यातायात कार्यालय र सरकारी नम्बर प्लेटका लागि विभागमा जानुपर्ने बताइएको छ । सवारीधनीले सो नम्बर प्लेटका लागि तोकिएको बैंकमा राजश्व बुझाउनुपर्ने विभागले जनाएको छ । दुईपाङ्ग्रे सवारीसाधनका लागि रु दुई हजार ५००, चारपाङ्ग्रे साना तथा मझौला सवारीका लागि रु तीन हजार २०० र ठूला सवारीका लागि रु तीन हजार ६०० राजश्व जम्मा गर्नुपर्नेछ ।
सवारीको कर चुक्तासम्बन्धी अद्यावधिक कागजात, नम्बर प्लेटबापतको रकम जम्मा गरेको बैंक भौचर र अनलाइन फाराम भरेको प्रिन्ट गरिएको कागजात तोकिएको कार्यालयमा जम्मा गर्नुपर्ने बताइएको छ । विभागले सरकारी नम्बर प्लेटका सवारीसाधनलाई फागुनसम्ममा सो नम्बर प्लेट लिइसक्नुपर्ने अनिवार्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्