सुरक्षा व्यवस्था थप मजबुत बनाउन प्रधानमन्त्रीको निर्देशन



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिएका छन् ।
राष्ट्रिय सुरक्षा परिषदको सोमबार बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी लिँदै प्रधानमन्त्री सुरक्षा व्यवस्था थप मजबुत बनाउन निर्देशन दिएका हुन् ।
सिंहदरबारस्थित रक्षा मन्त्रालयमा रहेको सुरक्षा परिषद्को सचिवालयमा बसेको बैठकमा बैठकमा प्रधानमन्त्रीले प्रतिबन्धित विप्लव समूहको गतिविधिका बारेमा पनि जानकारी लिएका थिए । बैठकले विप्लव समूहमाथिको प्रतिवन्ध फुकुवासहित राजनीतिक अवस्थाको विश्लेषण गरेको छ । सरकारले दुई वर्षअघि राजनीतिक गतिविधि गर्न बन्देज गर्दै प्रतिबन्ध लगाएको विप्लव समूहसँगको वार्ता, प्रतिबन्ध फुकुवा र आगामी रणनीति तथा वर्तमान समसामयीय राजनीतिक अवस्थाका विषयमा छलफल भएको जनाइएको छ ।
बैठकमा प्रतिनिधि सभा विघटनपछिको वर्तमान अवस्था र सम्भावित अवस्थाका विषयमा पनि छलफल भएको बताइएको छ ।
सुरक्षा परिषदको बैठकमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापासमेत सहभागी थिए । समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक प्रावधान छ ।
सुरक्षा परिषदको बैठक यसअघि गत कात्तिक ५ गते बसेको थियो । सुरक्षा परिषद् पछि बालुवाटारमा नै प्रधानमन्त्री ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच एकघण्टा छलफल भएको थियो ।
संविधानको भाग २८ अन्तर्गत धारा २६६ मा राष्ट्रिय सुरक्षा परिषद्को व्यवस्था गरिएको छ । सो धाराको उपधारा १ मा नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्वन्धि नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि नेपाल सरकार, मन्त्रिपरिषद्लाई सिफारिस गर्न सुरक्षा परिषद्को व्यवस्था गरिएको उल्लेख छ ।
प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परषिदमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्