चीन भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार



काठमाडौं । सम्बन्ध बिग्रँदै गए पनि भारतको प्रमुख व्यापारिक साझेदारका रुपमा चीनले आफूलाई पुनःस्थापित गराएको छ ।
गत वर्ष सिमानामा भएको ठूलो झडपपछि भारतले टिकटक र वीच्याटसहित २२० चिनियाँ प्राविधिक एपहरुमाथि प्रतिबन्ध लगाएको थियो । ती एपहरुले राष्ट्रिय सुरक्षालाई जोखिममा पार्ने बताउँदै एपहरु बन्द गरिएको हो भने चिनियाँ सामानहरु पनि बहिस्कार गर्ने भनिएको थियो । तर, यसका बाबजुद् यी दुई छिमेकीबीच सन् २०२० मा ७७.७ अर्ब डलर बराबरको कारोबार भएको हो ।
यो तथ्यांक अघिल्लो वर्षको भन्दा कम भए पनि चीनलाई भारतको सबैभन्दा ठूलो व्यापारिक पार्टनर बनाउन पर्याप्त रहेको दिल्लीको वाणिज्य मन्त्रालयले जनाएको छ । प्यान्डेमिकको अभवधिभरि विश्वव्यापी व्यापारको प्रवाह अस्थायी रूपमा रोकिएको थियो । पछि गएर मेडिकल उपकरण र आपूर्तिको माग भने बलियो हुँदै गएको हो ।
आत्मनिर्भर बन्ने र बेइजिङसँगको व्यापारिक कारोबार कम गराउने निरन्तर प्रयासपछि पनि भारत अझै भारी मेसिनरी, टेलिकमका उपकरण र घरेलु सामानहरुमा चीनमै पूर्ण निर्भर रहेको छ । भारतले चीनबाट ५८.७ अर्ब डलर बराबको सामान आयात गरेको उल्लेख छ, यो अमेरिका र यूएईलाई मिलाउँदाभन्दा धेरै हुन्छ । चीनपछि अमेरिका र यूएईसँग भारतले सबैभन्दा धेरै कारोबार गर्ने गरेको छ ।
नेसनल युनिभर्सिटी अफ सिंगापुरका अर्थशास्त्री अमितेन्दु पलितका अनुसार चिनियाँ आयातमै निर्भर भइरहनुपछाडिको कारण भनेको स्थानीय रूपमा ती सामानहरुको उपलब्धतामा अभाव हुनु हो । चीनबाट आयात गर्न एकदमै सस्तो पर्छ र पर्याप्त मात्रामा र छिटो उपलब्ध गराउन सकिन्छ । तर, अन्य स्रोतहरुबाट अयात गर्दा चीनको तुलनामा महँगो हुने अनि धेरै समय लाग्ने गरेको उनले बताए ।
गत जुन महिनामा भारत र चीनबीच भएको ठूलो झडपमा कम्तीमा पनि २० भारतीय सेना मारिएको जनाइएको थियो । त्यस्तै, अघिल्लो हप्ता मात्र चीनले पनि आफ्नो तर्फका चार सेनाको उक्त झडपमा मृत्यु भएको जानकारी दिएको थियो । सो घटना ४५ वर्षकै सबैभन्दा हिंसात्मक झडप भएको पनि बताइएको छ । हाल दुवै पक्षले वार्ता गरी विवादित क्षेत्रबाट आफ्ना सेना हटाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्