सर्वोच्चको फैसला प्रशंसनीय र ऐतिहासिक : नेताहरु



काठमाडौँ । विभिन्न दलका नेताहरुले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना गर्ने फैसला गरेर अदालतको गरिमालाई बढाएको बताएका छन् । उनीहरुले प्रधानमन्त्रीको कदमलाई बदर गर्ने निर्णय गरेर अदालतले अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला गरेको बताए ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुनस्र्थापना हुँदा नेपाली जनताको जित भएको बताएका छन् ।
सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय सुनाए लगत्तै छोटो प्रतिक्रिया दिँदै प्रचण्डले जनताको जित भएको बताएका हुन् । यो निर्णयले संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित भएको प्रचण्डले सुनाए । ‘अदालतको फैसलाले नेपाली जनताको जित भएको छ’, प्रचण्डले भने, ‘यो निर्णयले संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित भएको छ ।’
‘सर्वोच्च अदालतको गरिमालाई बढाएको छ । प्रधानन्यायाधीशलगायत सबै न्यायाधीशज्यूहरुको पनि इज्जत र प्रतिष्ठा बढाएको छ,’ नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष मावधकुमार नेपालले भने । नेपालले भने, ‘यो अत्यन्तै प्रशंसनिय काम भएको छ ।’
अध्यक्ष नेपालले अब प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा रहेका दलहरुको संयुक्त सरकार बनाएर अगाडि बढ्ने बताए । ‘जति पनि पार्टीहरु केपी ओलीको विरुद्धमा हुनुहुन्छ उहाँहरुसमेत बसेर कसरी जाने निर्णय गर्छौं ।
यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापनाको फैसला गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् ।
उनले अब संसदले नै नयाँ नेतृत्व चयन गर्नुपर्ने पनि बताए । ‘केपी शर्मा ओलीलाई अब सत्तामा एक सेकेन्ड पनि रहने नैतिक अधिकार छैन । उनले तुरुन्त राजीनामा दिनुपर्छ,’ पौडेलले भने ।
कांग्रेस सांसद गगन थापाले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेर सर्वोच्च अदालतले राजनीतिलाई ट्रयाकमा ल्याइदिएको बताएका छन् । ‘यो संविधानको पालना र कार्यान्वयन गर्ने जिम्मा पाएको कार्यकारी चुक्दा र राष्ट्रपतिले त्यसलाई सच्च्याउने आफ्नो जिम्मेवरी वहन गर्न चुक्दा संविधानमाथि आघात भएको थियो । सर्वोच्चले आफ्नो दायित्व निर्वाह गर्दा संविधानको जित भएको छ,’ थापाले भने ।

प्रतिक्रिया दिनुहोस्