ओलीले सजिलै पद नछाड्ने देउवाको आशंका



काठमाडौं । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुहुन्छ जस्तो नलागेको बताएका छन् ।
महेन्द्रनारायण निधिको ९९ औ जन्मजयन्तीका अवसरमा बुधबार आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै भने, ‘ओलीजीले राजीनामा दिनुहुन्छ जस्तो लाग्दैन, उहाँबाट राजीनामा आए अविश्वास प्रस्ताव पेस गर्नुपर्दैन ।’
उनले नेकपा अझै विभाजन भइनसकेको बताउँदै भने, ‘हामीले देख्दा नेकपाभित्र दुईवटा समूह छ तर कानुनी रूपमा उहाँहरु एकै हुनुहुन्छ ।’ माधव नेपाल–प्रचण्डजीहरु कसरी जान्छन् ? नेकपा के हुन्छ ? भन्ने प्रष्ट नभएकाले अझै के हुन्छ भन्ने अन्यौल रहेको सभापति देउवाले बताए ।
ओलीले पदबाट राजीनामा नदिएपछि बहुमतको निर्णय मान्ने या आफैँ छोड्नुको विकल्प नभएको देउवाले बताए । शान्तिपूर्ण सत्ता हस्तान्तरण हुनुपर्ने भन्दै उनले भने, ‘ओलीजीले संसदमा बहुमत पु¥याउनुपर्छ, नभए छोड्दा राम्रो हुन्छ । तर यसो गर भनेर हामीले भन्ने होइन ।’
उनले जनताले कांग्रेसलाई भोट नदिए पनि कांग्रेसकै आशा सबैको रहेको दाबी गरे । देउवाले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएका कारण चुनाव हुन्छ भन्ने लागेको पनि उल्लेख गरे ।
उनले भने, ‘सुरुमा स्टे अर्डर देला भन्ने लागेको थियो । तर स्टे अर्डर नदिएको हुनाले चुनाव हुन्छ भन्ने हामीलाई लागेको थियो ।’ त्यहीकारण संसद पुनःस्थापना भएपनि मान्छौं, चुनाव भएपनि मान्छौं भनेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्