सोलु एफएमको स्टुडियोमा आगलागी हुँदा एक करोड बराबरको क्षति



काठमाडौँ : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पुबजारबाट सञ्चालित प्रदेश एककै पहिलो सामुदायिक रेडियो सोलु एफएमको स्टुडियोमा आगलागी भएको छ । उक्त रेडियोको स्टुडियोमा आइतबार राति करिब १२ः ३० बजे आगलागी भएको हो ।

स्टुडियोबाट सुरु भएको आगोले सबै उपकरणसहित भवनमासमेत क्षति पुर्‍याएको स्टेशन म्यानेजर भोजराज कार्कीले जानकारी दिए । आगलागीबाट करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान भएपनि एकिन कारण पत्ता लागेको छैन ।

म्यानेजर कार्कीका अनुसार आगो नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासी, रेडियोका कर्मचारी लगायतको सहयोगमा करिब २ घण्टापछि नियन्त्रणमा आएको थियो ।

एफएमको सम्पूर्ण सामाग्री जलेर नष्ट हुँदा व्यवस्थापनका लागि समय लाग्ने भएकाले प्रशारण केही दिन बन्द हुने बताइएको छ । वि.सं. २०६१ सालमा स्थापना भएको सोलु एफएम हाल एक हजार वाट क्षमतामा प्रसारण भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्